गैंडाकोट, १० चैत ।
ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला गैंडाकोट नगरयुवा संजालको आयोजनामा शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
गैंडाकोट-२ का अध्यक्ष प्रकाश सापकोटाको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले ट्राफिक नियम सवारीसाधन चलाउने र पैदल यात्रा गर्ने सबैले पालना गर्नुपर्ने बताए । ट्राफिक सचेतता सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु विद्यालयमा समेत आवश्यकता रहेको उनले बताए । कार्यक्रमका अर्का अतिथि ईलाका प्रहरी कार्यालय गैंडाकोटका उपप्रमुख मोहन थापा क्षेत्रीले ट्राफिक नियमको पालना नहुँदा सहरी क्षेत्रमा बढी दुर्घटनाको जोखिम रहेको बताए ।`जोखिमलाई कम गर्नका लागि ट्राफिक प्रहरीले सचेतनासँगै नियम पालना नगर्नेलाई कारबाहीसमेत गर्दै आइरहेको छ´, थापाले भने – -`कारबाही मात्रै समस्याको समाधान होइन । हरेक चालक, सहचालक, पैदल यात्रु र सवारी यात्रु सबैजना सचेत भएमा मात्रै दुर्घटना न्यूनीकरण हुन्छ ।´
सचेतना कार्यक्रममा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक, सहचालक, स्कुल, कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न विभिन्न ट्राफिक नियमहरु लेखिएको सचेतनामुलक पर्चा-पम्पलेट वितरण गरिएको थियो । ईलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी र सामुदायिक सेवा केन्द्र गैंडाकोटको सहजीकरणमा गरिएको कार्यक्रम संजाल अध्यक्ष रोशन दर्लामीको अध्यक्षतामा भएको थियो । संजाल उपाध्यक्ष प्रमिता सापकोटाले स्वागत गरेको सभालाई सहजीकरण सुगम पोख्रेलले गरेका थिए ।




