भरतपुर, १० चैत ।
भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।
उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो ।
भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानी भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । कर्नाटकको एक चुनावी सभामा उनले सो अभिव्यक्ति दिएका थिए । राहुलको यस्तो अभिव्यक्तिले ‘मोदी समुदायको सार्वजनिक अपमान’ भएको भन्दै राहुल विरुद्ध स्थानीय अदालतमा मुद्धा दायर भएको थियो ।
फैसला भएपनि गान्धी तत्कालै जेल भने जाने छैनन् । उनलाई तत्कालै धरौटीमा रिहा गरिएको छ भने यो बीचमा उनले माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।
मुद्धाको विगत ४ वर्षदेखि सुनुवाई हुँदै आएको थियो । राहुलले अदालतमा उपस्थित भएर ‘आफ्नो उदेश्य कुनै समुदायलाई अपमान गर्नु नभएर राजनीतिक व्यंग मात्रै गरेको’ बयान दिएका थिए ।
भारतको मानहानी सम्बन्धी ऐनमा आरोप प्रमाणित भए २ वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।





