वन उद्यमबाट आर्थिक सशक्तिकरण

गैँडाकोट, ७ चैत
वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरण कार्यमूलक अनुसन्धान परियोजनाको नीति संवाद कार्यक्रम मंगलबार गैंडाकोटमा सम्पन्न भएको छ ।
इन्टरनेसनल डेभेलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोग र फरेष्ट एक्सन नेपालसहित हिमवन्ती नेपाल, पारिवारिक निजी वन संघ र वन पैदावार उद्योग व्यवसायी महासंघको साझेदारीमा २०७८ असोजबाट यो परियोजना कार्यान्वयन भैरहेको छ । सिन्धुपाल्चोक जिल्लाका दुई पालिका र नवलपरासी बसुपूर्वका दुई पालिकामा यो परियोजना २०८० चैतसम्म कार्यान्वयन हुनेछ ।

यस परियोजनाले महिलाहरुको प्राकृतिक स्रोत साधनमा पहुँच, नियन्त्रण र निर्णय गर्ने क्षमताको अभिवृद्धि एवं वन उद्यमका व्यवसायिक नमुनाहरुको विकास गरि उनीहरुको आर्थिक सशक्तीकरण गर्ने लक्ष लिएको छ । वनमा आधारित उद्यमहरुमार्फत महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उनीहरुको नेतृत्वदायी भूमिका, दिगो आयाआर्जन, जलवायु परिवर्तनका जोखिमबाट सुरक्षित हुँदै सामाजिक, आर्थिक, पर्यावरणीय उत्थानशीलता र वन संरक्षणमा निर्णायक भूमिकामा उभ्याउन यो परियोजना लागू गरिएको हो ।
यस परियोजनाबाट महिलाहरुमा उनीहरुको पहिचान र गरिमा, अन्तरविच्छेदन, स्वामित्व र रुपान्तरणमा समान सहभागिता गराउने उद्देश्यले कार्यमूलक अनुसन्धानको प्रारुप तयार पारिएको हो । वन र प्रकृतिमा आधारित उद्यम मार्फत महिलाको आर्थिक सशक्तीकरण गरी जलवायु परिवर्तन र कोभिड जस्ता महामारीमा पनि उनीहरुलाई उत्थानशिल बनाउँदै लैजानका लागि प्रमाणमा आधारित ज्ञानको सिर्जना गरिएको छ ।

नेपालको वन क्षेत्रमा महिला आर्थिक सशक्तिकरणको प्रयासमा विद्यमान नीतिगत, संस्थागत र व्यवहारिक अवसर तथा सवालहरुको लैंगिक तथा अन्तरविच्छेदन विश्लेषण गरी बुझाइमा प्रष्टता ल्याउने छ । यसले उनीहरुमा सामूहिक जागरण, समय व्यवस्थापन, उद्यमशीलताको साथसाथै रुपान्तरित शक्ति सम्बन्धहरुको सिर्जनाका लागि नवीन विधि तथा राननीतिको विकास गर्नेछ ।
परियोजना स्थानीय सरकार, डिभिजन वन कार्यालय, सामुदायिक वन र सहकारीको समन्वय र साझेदारीमा भैरहेको छ । परम्परागत सीप र ज्ञानमा आधारित यश उद्यममा राष्ट्रिय आविष्कार केन्द्रको समेत सहकार्य रहेको छ । केन्द्रले उद्यमीहरुलाई आवश्यक सोलार सिस्टमबाट चल्ने मेसिनरी उपलब्ध गराएको छ ।

बाँसमा आधारित उद्यम अन्तर्गत लाटु, घुमथाङ र देउराली गरी ३ समूहका ४२ जना उद्यमी यसमा संलग्न छन् । अलैँची तथा सिस्नुको पाउडरमा लाटु र घुमथाङ समूहका २३ जना, अम्रिसोको कुचोमा लाटु, मानेश्वारा र नमुना समूहका ३२ जना, नेपाली हातेकागजमा ढुस्कुन समूहबाट १३ जना, लप्सीका परिकारमा ढुस्कुनका दुई समूहबाट १७ जना, अदुवा बेसार खेती तथा प्रसोधनमा अमरज्योति सामुदायिक वनका १३ जना, सालको पातको टपरीमा अमरज्योति, देउराली र शंखदेवी सामुदायिक वनबाट ४३ जना, थाकलका हस्तकलामा नमुना सामुदायिक वनका १४ जना, कफी प्रशोधनमा मानेश्वारा समूहका ८ जना, कृषि वन नर्सरीमा मानेश्वारा समूहका १३ जना, त्रिफलामा सुन्दरी सामुदायिक वनका १६ जना र अल्लोको धागोमा घुमथाङ समूहका ६ जना उद्यमी गरी २३४ जना उद्यमीहरु रहेको फरेस्ट एक्सन नेपालकी वरिष्ठ अन्वेषक डा. सृजना बरालले बताइन् ।

वनमा आधारित उद्यम विकासका लागि अवसर र चुनौतीका बारेमा डिभिजन वन कार्यालय, नवलपरासीका प्रमुख मोहनराज काफ्लेले प्रकाश पारेका थिए । उनले भने, ‘वन पैदावार ओसारपसार गर्दा सामुदायिक वन ऐन २०७६ को प्रावधान अनुसार गर्नुपर्छ । कानूनी परामर्शको लागि वन कार्यालय तयार छ ।’ वनबाट कच्चापदार्थ संकलन गर्ने भएकाले वनको व्यवस्थापनमा पनि उपभोक्ता उद्यमीहरुले ध्यान दिनुपर्ने भन्दै उनले सजग गराएका थिए ।

‘थाकल यौटा यस्तो मिचाहा प्रजातिको झार हो जसलाई न्यूनिकरण गर्नको लागि त्यसको गानोनै निकालेर फाल्नुपर्छ’ उनले भने, ‘थाकलका बिरुवा उम्रिएको ठाउँमा सालको बिरुवा उम्रन सक्दैन । मास्नुपर्ने थाकल प्रयोग गरेर विभिन्न हस्तकलाका सामान बनाउन सकिन्छ भन्ने थाहै थिएन । शुरुमा इन्डियाबाट आएर व्यापारीहरुले गाडीमा लोड गरेर लैजान्थे। सही व्यवस्थापन ग¥यौं भने मिचाहा प्रजातिको पनि सुन्दर हस्तकला बनाउन सकिने रहेछ ।’

वातावरणमैत्री सामानको प्रयोग विश्वभरि रहेको उल्लेख गर्दै जिल्ला वन प्रमुख काफ्लेले हरित उद्यमलाई प्रोत्साहन गर्नु हामी सबैको दायित्व भएको र यसले संस्थागत विकास गरी हाम्रो सामूहिक प्रयासलाई अगाडि बढाउन टेवा पुगेको बताए । हामीसँग कच्चापदार्थ प्रशस्त भएकोले सालको काठ, दाउरामात्र नभएर खेर जाने पातहरु संकलन गरेर समयमै उपयोग गर्न सके हरित उद्यमले ठूलो बजार ओगट्ने उनको भनाइ थियो ।

वन प्रमुख काफ्लेले थपे, ‘परियोजना आउँदा लघु उद्यमहरु सञ्चालन हुन्छन् अनि परियोजना सकिएपछि लगत्तै लघु उद्यम बन्द गरिहाल्ने अवस्था छ । एनजिओ आइएनजिओ लगायतले विभिन्न कार्ययोजनाहरु ल्याउँछन् तर तीनै तहका सरकारको प्राथमिकतामा नपर्दा लघु उद्यमी समस्यामा पर्ने गरेका छन् ।’प्रचलित अन्तर्राष्ट्रिय कानूनको पालना गर्न र सामुदायिक वन ऐन २०७६ लाई ध्यानमा राखेर तोकिएको राजस्व बुझाई आएमा डिभिजन वन कार्यालयले उद्यमीहरुलाई कुनै रोकतोक नगर्ने समेत काफ्लेले प्रष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले महिला उद्यमीहरुले सिकेको सीपको भरपुर उपयोग गर्न आग्रह गरेका थिए । विभिन्न उद्यमीहरुले राखेका समस्याको सम्बोधन गर्दै मेयर अधिकारीले दुना, टपरी बनाउने मेसिन राख्ने ठाउँको अभाव भएमा त्यसको व्यवस्थानमा नगरपालिकाले साथ दिने प्रतिबद्धता व्यक्त गरे । उनले जमिन, घर केके आवश्यक पर्छ त्यसमा नगरपालिकाले आवश्यकता अनुसार सहयोग उपलब्ध गराउँदै जाने बताए ।

केही समय अगाडि किसानहरुलाई धान सुकाउने ठाउँको अभाव भयो भन्ने गुनासो आएपछि वडा नम्बर १२ मा नगरपालिकाले घर बनाइदिएको स्मरण गर्दै मेयर अधिकारीले नगरपालिकाभित्र आर्थिक रुपमा आफ्ना जनतालाई सबल बनाउन नगरपालिकाले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने उद्घोष गरेका थिए । मेयर अधिकारीले वनमा गएर थाकल काट्दा या सालको पात टिप्दा सामुदायिक वनलाई राजस्व बुझाउन पर्छ भन्ने कुराको जानकारी नरहेको पनि प्रष्ट पारे ।

पारिवारिक निजी वन संघकी अध्यक्ष सरिता सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा फरेस्ट एक्सन नेपालकी वरिष्ठ अन्वेषक डा. सृजना बरालले कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रमलाई सहजीकरण कमल भण्डारीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट