भरतपुर, ७ चैत
भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा क्रिकेट खेलाएको भाडा नतिरेको आरोपको भरतपुर क्रिकेट क्लबले खण्डन गरेको छ ।
रंगशाला निर्माणमा खटिएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले मंगलबार सार्वजनिक गरेको भिडियोमा मेयर कप क्रिकेट सञ्चालन गरेको समयमा २ लाख १० हजार भुक्तानी लिन बाँकी रहेको बताएका छन् ।
उनले कुन संस्थाले तिर्न बाँकी हो किटान गरेका छैनन् । सन् २०२१ मा रंगशाला निर्माणस्थलमा बनेको नमुना क्रिकेट ग्राउण्डमा भरतपुर क्रिकेट क्लबले ‘भरतपुर मेयर कप क्रिकेट’ आयोजना गरेको थियो ।
क्लबका तर्फबाट प्रतियोगिता निर्देशक राजु खड्काले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रतियोगिताले मैदान प्रयोग गरेवापत कुनै पनि भुक्तानी दिन बाँकी नरहेको दाबी गरिएको छ ।
“भरतपुर महानगरको पत्र र फाउन्डेसनको सहमतिमा नमुना मैदानमा आयोजना गरिएको सो प्रतियोगिता बीचमा आएको कोभिडको दोस्रो लहरले मेयर रेनु दाहालको आग्रहमा स्थगित गरिएको हो”, विज्ञप्तिमा अघि लेखिएको छ– “रंगशालाको क्यान्टिनमा सम्पूर्ण भुक्तानी रकम तिरेर खेलाडीले खाएको पानीको पैसासमेत तिरेर बन्द गरिएको प्रतियोगिताको कसरी २ लाख १० हजार तिर्नुपर्ने हो ?”
उनले तथ्यहीन आरोप नलगाउन चेतावनी दिँदै तिर्न बाँकी भएको तथ्य पुष्टि गर्न चुनौती पनि दिएका छन् ।
भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारी हुन् । अधिकारी र धुर्मुसबीच लामो समयदेखि टकराव छ । अधिकारीले धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका नाममा जनताबाट आर्थिक संकलन गरेर अनिमितता गरेको आरोप लगाउँदै आएका छन् । आरोप मात्रै होइन, उनले धुर्मुसले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन गर्न माग गरी उजुरीसमेत दिएका छन् ।
धुर्मुसले मंगलबार जारी गरेको आधा घन्टा लामो भिडियोमा यही प्रसंग कोट्याइएको छ । भिडियोमा उनले अधिकारीको नाम त लिएका छैनन् । तर, भनेका छन्– “म कोभिड लागेर थलिएको बेला मैले अनियमितता गरेको भनेर अख्तियारमा उजुरी प¥यो । आफू क्रिकेटका लागि मरिमेटेर लागिपरेको भन्ने मान्छेले नै क्रिकेट रंगशालाविरुद्ध उजुरी हाल्यो । ५७ करोडको काम भएको ठाउँमा ५७ करोड नै घोटाला ग¥यो भनिएको छ ।”




