देवचुली, ७ चैत ।
देवचुलीस्थित भीमसेन आदर्श माविका विद्यार्थीलाई चस्मा वितरण गरिएको छ । भीसान नवलपरासी, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र रोट्र्याक्ट क्लब अफ भरतपुरको आयोजना तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त विद्यालयमा गत मंसिर २३ गते आँखा परिक्षण शिविर गरिएको थियो । कुल १०२ जनाको आँखा परिक्षण गरिएकोमा चस्मा लगाउनुपर्ने भनि पहिचान गरिएका कक्षा ७, ८ र १० का कुल १४ जना विद्यार्थीलाई भरतपुर आँखा अस्पतालले उपलब्ध गराएका चस्माहरु विद्यालयका प्रधानाध्यापक अग्नि भुसाल र विद्यालयकी नर्स कला भट्टराईको रोहवरमा वितरण गरिएको हो । कक्षा ८ को जिल्लास्तरीय परीक्षा चलिरहेकोले उक्त कक्षाका विद्यार्थी उपस्थित नरहेको प्रधानाध्यापक भुसालले बताए ।
चस्मा वितरण कार्यक्रममा आयोजक संस्थाका तर्फबाट भीसान नवलपरासीका अध्यक्ष शेर बहादुर पौडेल पनि सहभागी थिए ।




