म कविता लेख्न सक्दिन
म कवि होइन
हो मलाई कविता सुन्न मन पर्छ ।
म कविता लेख्न सक्दिन
म कवि होइन
किन लेख्ने कविता
आधा शतक नै भै सक्यो
न कतै महाकवि लक्ष्मीप्रसाद देख्छु
न कतै कवि शिरोमणि लेखनाथ देख्छु
न आदिकवि भानुभक्त, न त मोतीराम नै
न कतै लेखिन्छन् मुनामदन
न कतै लेखिन्छन् चाणक्यनीति
न ॠतुविचार नै ।
हिजोआज न कतै अनुष्टुप भेट्छु
न त शार्दूलविक्रीडित नै
आ.. शिखरिनी र मन्दाक्रान्ता को त कुरा गर्ने आँट नै छैन ।
मलाई कविता सुन्न मन पर्छ
वास्तवमै म कविता लेख्न सक्दिन म कवि होइन ।
किन लेखुँ कविता ?
हिजोआज खुद्रा व्यपारीका अनेक अनेक फाइदाका लागि
खैर, कान्तिपुर र साप्ताहिककै लागि
अनि अनेक अनेक सुन्दै लाज लग्ने थरीथरीका पुरस्कारको पगेरी गुथ्नका लागि
म कविता लेख्दिन, मलाइ कविता सुन्न मन पर्छ ।
हो मलाई कविता सुन्न मन पर्छ, म कविता लेख्न सक्दिन म कवि होइन !!
मलाई लक्ष्मी नै काफी शिरोमणि नै काफी मोतीराम र भानु नै काफी
उनीहरूलाई नै सुनी बस्छु, हेरी बस्छु र सोची बस्छु वाह.. क्या कविता
एक प्रहर आफैलाई बिर्सन्छु ।
गजब छ हिजोआज त प्रगतिशील रे
प्रतिगामी रे, यथास्थितिवादी रे
क्या भित्त्र्यायौ स्वघोषितहरु हो
तिमीहरुलाई बधाई छ
राजकाज र जमाना तिमीहरुकै छ
हो मलाई कविता सुन्न मन पर्छ ,
म कविता लेख्न सक्दिन म कवि होइन ।
अब त झनै कविता लेख्न सक्दिन, म लेख्दै लेख्दिन
तिमीहरुको मनमौजी उत्तरआधुनिकताको हिस्सेदारी लिनु छैन
किन गरौँ र ?
खोइ समालोचना, नाटक, कथा र निबन्धका कुरा ?
कोही लेख्दै लेख्दैन
वस् मलाई सुन्न मन पर्छ
एक प्रहर आफू आफैभित्र हराउन मन पर्छ ।
मलाई कविता सुन्न मन पर्छ
वास्तवमै म कविता लेख्न सक्दिन
म कवि होइन ।




