साहित्यसाधक नन्दनलाई नारायणी प्रज्ञा सम्मान दिइने

भरतपुर, ५ चैत ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा-साहित्य, कला, संस्कृतिका क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्रष्टाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यसाधक प्रेमविनोद नन्दनलाई नारायणी प्रज्ञा सम्मान, वरिष्ठ रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठलाई भरतपुर प्रज्ञा सम्मान र वरिष्ठ समाजशास्त्री तथा लोक संस्कृति अन्वेषक डिल्लीराम पोखरेल (डी. आर. पोखरेल) लाई कृष्ण बम मल्ल प्रज्ञा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । हरेक दुई-दुई वर्षमा प्रदान गरिने नारायणी प्रज्ञा सम्मान पहिलोपटक नन्दनलाई प्रदान गर्न लागिएको हो । यस सम्मानसँगै नगद रू १ लाख ७८ हजार रूपैयाँ र सम्मान पत्र रहेको छ । यसैगरी हरेक वर्ष प्रदान गरिने भरतपुर प्रज्ञा सम्मान र कृष्ण बम मल्ल प्रज्ञा सम्मानको नगद राशि रू ५० हजार ७८ रूपैयाँ र सम्मान पत्र रहेको छ ।

प्रतिष्ठानले प्रा.डा.लक्ष्मणप्रसाद गौतमको समालोचनात्मक कृति `चितवनको साहित्यिक रूपरेखा´लाई नगद राशि रू ५० हजार ७८ रूपैयाँ र सम्मान पत्रसहित चित्रवन प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी प्राडा एकनारायण पौडेलको `निसमालोचना´ निबन्धसङ्ग्रह, उपन्यासकार सिर्जन अविरलको `मोक्ष´ उपन्यास, महाकाव्यकार पोषराज पौडेलको `शुक्लागण्डकी´ महाकाव्यलाई भरतपुर महानगर प्रज्ञा पुरस्कार र गायत्री श्रेष्ठको गीतसङ्ग्रह `आफ्नै मनको सागरमा´लाई वागीश्वरी प्रज्ञा पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यी पुरस्कारहरूको राशि जनही २५ हजार ७८ रूपैयाँ र सम्मान पत्र रहेको छ ।

प्रज्ञा प्रतिष्ठानले उपयुक्त समयमा विशेष कार्यक्रमको आयोजना गरी माथि उल्लेखित सम्मान तथा पुरस्कार अर्पण गर्ने प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिए । प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार भरतपुरमा बसेको बैठकले पुरस्कार एवम् सम्मानहरूको निर्णय गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट