भरतपुर, २ चैत ।
युथ क्लब नारायणगढले वसन्त काव्य उत्सव आयोजना गरेको छ । `नारायणीका लहर लहरमा सृजनाका तरङ्गहरू´ शीर्षकमा कार्यक्रम आयोजना गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित नारायणी किनारमा रहेको क्लबको हलमा कार्यक्रम गरिएको हो ।
वसन्त ऋतु आरम्भ भएको अवसर पारेर काव्य उत्सव गरिएको क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले बताए । युथ क्लब २०३७ सालमा स्थापना भएको हो । क्लबले पहिलोपटक जिल्लाका विशिष्ट प्रतिभालाई आमन्त्रण गरेर काव्य उत्सव गरेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति कमाएका यस क्षेत्रका विशिष्ट प्रतिभा प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी र ऋद्धिचरण श्रेष्ठको समेत सहभागिता थियो । 
कलाकार ऋद्धिचरण श्रेष्ठले युथ क्लबले सामाजिक एवम् शैक्षिक जागरणका काम सँगसँगै साहित्य र कलालाई पनि समेट्न सकेकोमा खुसी लागेको बताए । श्रेष्ठले आफू नारायणी कला मन्दिरसँग जोडिएर कलाकारितामा प्रवेश गरेको पनि बताए । कार्यक्रममा श्रेष्ठले नारायणी कला मन्दिरको योगदानको चर्चा गरे । श्रेष्ठले कान्छी चलचित्रबाट अभिनय यात्रा थालेका हुन् । उक्त चलचित्रमा कान्छीको भूमिकामा रहेकी शर्मिला मल्लको बुबाको भूमिकामा रहेका श्रेष्ठले सोही चलचित्रको एउटा संवाद सुनाएका थिए । अन्य सहभागी स्रस्टाले कविता, गजल, मुक्तकसँगै जीवनका विभिन्न अनुभव र अनुभूति प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सुरुवातमा स्रस्टा धनराज गिरीले शार्दुलविक्रीडित छन्दमा लेखेको वसन्त ऋतुको आरम्भ शीर्षकको कविता सुनाएका थिए ।कार्यक्रममा गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटा, पूर्व अध्यक्ष रमेश प्रभात र किसान प्रेमीले गजल सुनाए । कवि कमल कँडेलले काव्य अनुभूति सुनाए भने अनिता उपाध्यायले आमालाई सम्बोधन गरिएको कविता सुनाइन् । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले व्यङ्ग्य निबन्ध प्रस्तुत गरे ।
स्रस्टाहरू हेरम्बकुमार श्रेष्ठ असीम, सरला जोशी, विद्या भण्डारी चिराग, कपिल अज्ञात, भानुप्रसाद उपाध्याय, श्रीभक्त अच्युत वाग्ले, पूर्णप्रसाद अधिकारी, मणिराम काफ्ले, सहन प्रधान, विज्ञानलाल श्रेष्ठ, डिआर पोखरेल, डाक्टर एकनारायण पौड्याल, जगन्नाथ पण्डितलगायतका स्रस्टाले रचना वाचन गर्नुका साथै मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा सदस्य मनोज घिमिरेले महानगरपालिकाले चितवनको कला, साहित्य र संस्कृतिको जगेर्नामा सदैव सहयोग गर्ने बताए । कार्यक्रमलाई भानुप्रकाश जोशीले सहजीकरण गरेका थिए ।




