भरतपुर, २७ फागुन ।
चितवन साहित्य परिषद् (चिसाप)को शनिबारको बैठकले आगामी चैत ४ गते शनिबार कार्यक्रम आयोजना गरि स्रस्टाहरू उदय अधिकारी र सनत रेग्मीलाई सम्मान गर्ने निर्णय गरेको छ । चितवन निवासी सम्वार्ताकार, समीक्षक तथा अध्यापक उदय अधिकारीलाई `चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार-२०७९´ प्रदान गर्न लागिएको हो । नगद १५ हजार ४५ रुपैयाँ र कदरपत्रले अधिकारीलाई सम्मान गरिन लागिएको परिषद्का अध्यक्ष केदारनाथ खनालले जानकारी दिए ।
साहित्यकार सरस्वती रिजाल र गायत्री श्रेष्ठले अक्षयकोषमार्फत संयुक्तरूपमा स्थापना गरेको यो पुरस्कार २०७४ सालदेखि दिन थालिएको हो ।
त्यसैगरी बाँके जिल्लाको नेपालगन्ज निवासी स्रस्टा सनत रेग्मीलाई चिसाप गीताश्री साहित्य पुरस्कार-२०७९ प्रदान गर्ने निर्णय परिषद्ले गरेको छ । चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष श्रीभक्त अच्युत वाग्ले र गीता वाग्ले संरक्षक रहेको यो पुरस्कार पहिलोपटक प्रदान गर्न लागिएको हो । यो पुरस्कारको राशी ३५ हजार ४५ रुपैयाँ रहेको छ । रेग्मी कथाकार हुन् ।




