भरतपुर, २४ फागुन ।
नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान भरतपुर-१० चितवनले स्वर्गीय पण्डित नीलकण्ठ पौडेलको १०६ औं जन्मजयन्तीका अवसरमा प्रदान गरिने विभिन्न पुरस्कारहरू सार्वजनिक गरेको छ । प्रतिष्ठानका संस्थापक, प्रधानसंरक्षक तथा अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न पुरस्कारहरू सार्वजनिक गरेको हो ।
पण्डित नीलकण्ठ पौडेल स्मृति राष्ट्रिय साहित्य पुरस्कार महाकाव्यकार पोषराज पौडेललाई दिने निर्णय गरेको छ । पुरस्कारको राशि २० हजार रुपैयाँ छ । त्यसैगरी पण्डित नीलकण्ठ पौडेल स्मृति क्षेत्रीय पुरस्कार गीतकार, गजलकार किसान प्रेमी एवम् पण्डित नीलकण्ठ पौडेल स्मृति नारीप्रतिभा क्षेत्रीय पुरस्कार साहित्यकार मायादेवी शर्मा (चालिसे)लाई प्रदान गर्ने निर्णय भएको छ । यी दुबै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ ।
यी पुरस्कार चैत १६ गते बिहीबार भरतपुरमा कार्यक्रम आयोजना गरि प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।




