साइँलाबा अर्थात दुईदैले साइँलाबा । यही नामले गैरीमा परिचीत साइँलाबाले आफ्नो जीवनकालमा वडावासीका लागि बिर्सन नसकिने गुन लगाउनु भएको छ । आज फागुन २४ गते साइँलाबाले संसार छाडेर गएको पनि १३ दिन पुगेको छ । साइँलाबाले हामी सबैलाई छाडेर गए पनि साइँलाबाले आफ्नो जीवनकालमा गरेका कर्मले हामीले साइँलाबा भनेर सम्झिरहन सक्छौँ ।
साइँलाबा अर्थात् केशवप्रसाद सापकोटाको जन्म २००१ साल असोज २४ गते बाग्लुङ जिल्लाको साबिक दमेक गाउँ विकास समिति वडा नम्बर ३ दरौंदीमा भएको हो । ४ भाइमध्ये एक साइँलाबा २०२५ सालमा बसाइँ सरेर बाग्लुङबाट चितवन आउनु भएको हो । ५ वर्ष जति भरतपुर-८ स्थित शरदपुर बस्नुभएका उहाँले शरदपुर बसाइँ कै क्रममा २०२७ सालमा धनकुमारी कँडेलसँग विवाह गर्नुभएको हो । धनकुमारीसँग साइँलाबाको तेस्रो विवाह हो । यसअघि दुईवटा विवाह गर्नुभएका साइँलाबाले पत्नीवियोग खेप्नुपरेपछि तेस्रो विवाह गर्नुभएको हो । सुरुका दुई श्रीमतीबाट साइँलाबाका सन्तान भएनन् । आमा धनकुमारीबाट जन्मिएका ६ भाइ छोरा ३ बहिनी छोरी साइँलाबाका सन्तान हुन् ।
साइँलाबा २०३० सालमा शरदपुरबाट गैंडाकोट आउनु भएको हो । गैंडाकोट नगरपालिका- ७ मा बस्न थालेपछि साइँलाबा सामाजिक सेवामा पनि सक्रिय हुनुभयो । पञ्चायतकालमा उहाँ वडा अध्यक्षसमेत हुनुभयो । २०४४ सालमा गैंडाकोट गाउँमा पञ्चायत अन्तर्गत वडा नम्बर ७ को अध्यक्ष हुनुभएको हो । त्यतिबेला अहिलेका मेयर मदनभक्त अधिकारी प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँ वडाध्यक्ष बन्नुभएको कालखण्ड अन्तिम पञ्चायतकाल थियो । त्यसपछि २०४६ सालमा हामीले बहुदललाई स्वागत गर्यौँ ।
साइँलाबाले आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण कामहरू गर्नुभएको छ । जसको चर्चा अहिले साइँलाबाले सबैलाई छोडेर जाँदा पनि हुने गरेका छन् । साइँलाबाले गैंडाकोट-९ थुम्सीको ढबाहा तालबाट पाइप जोडेर गैरीवासीलाई पानी खुवाउनु भएको हो । त्यतिबेला पिउने पानीका लागि घरघरमा इनार थिए । साइँलाबाले जंगलबाट मुलको पानी पाइपमार्फत गैरीका टोलटोलमा झार्नुभएको थियो । करिव तीन महिना गैरीवासीले जंगलको प्राकृतिक शुद्ध पानी पिउन पाएका थिए । पछि पाइप काटिने समस्या आएपछि पानी आउन रोकियो । तीन महिना भए पनि ढबाहाको पानी पिउन पाएका गैरीवासीले साइँलाबाको यो साहसलाई भुलेका छैनन् ।
साइँलाबाले आफू वडाध्यक्ष हुँदा गैरीमा नागरिकता टोली बोलाएर उमेर पुगेका नागरिकलाई फोटो खिचाएर नागरिकताको लागि फारम भरेर नागरिकता दिन पहल गर्नुभएको थियो । साइँलाबाको यो कामलाई पनि गैरीवासीले सम्झिरहेका छन् । गाउँमा नारायणी स्कुल र हरिहर मन्दिरको स्थापना गर्न पनि साइँलाबाको महत्त्वपूर्ण भूमिका छ । गैरीका सुकुम्बासी परिवारलाई व्यवस्थित बसाइँका लागि पनि साइँलाबाले गरेको पहलले अहिलेसम्म पनि ती परिवार सहज तरिकाले बसोबास गरिरहेका छन् ।
साइँलाबाको ख्यातीको मापन गर्न सकिन्न । हामी सानो छँदा गैरी गाउँमा ठूला मान्छे भनेका साइँलाबा हुनुहुन्थ्यो । बडेमानको किराना दोकान थियो, गाउँभरिकाले सेवा लिन्थे । चिया खाने, बात मार्ने ठाउँ उहाँकै घरको पाली थियो । २०३६ सालमा खुलेको यो किराना पसल गैरीबासीका लागि चाहिने भान्साका सामान र दैनिक उपभोग्य सामानको एकमात्र भण्डार थियो । साइँलाबाले चिनी, चामल र चिउराका बोरा नारायणगढबाट साइकलमा बोकेर ल्याउनु हुन्थ्यो । अलि धेरै सामान हुँदा रिक्साले उहाँको पसलसम्मै ल्याइदिन्थे । गैरी गाउँका घरपरिवार साइँलाबाको पसलमा निर्भर नरहेका कोही थिएनन् । थुम्सी र टोलटोलेदेखि पनि पनि कति परिवार उहाँ कै पसलमा आएका हुन्थे । आगो बाल्ने सलाइदेखि चामलसम्म उहाँकै पसलमा हुन्थ्यो ।
वडाअध्यक्षको कार्यकाल सकिएपछि पनि लामो समयसम्म उहाँको भूमिका मुखिया भन्दा कम थिएन । चाडपर्वका बेला उहाँकै दैला अगाडि पिङ हुन्थ्यो । खडखडे खेल्ने ठाउँ उहाँकै आँगन थियो । उहाँकै करेसा र कटेरामा तास खेल्नेहरू भेटिन्थे । हिजो जस्तै लाग्छ साइँलाबाको घरमा बाहिर ठूलो खाट र बेन्चीमा बसेर चिया, भुटेका मकै र पाउरोटी खाएको । ठूलो रेडियोमा समाचार र गीत सुनेको । सादा टिभीमा हिजोआजका कुरा´, ट्वाक्कटुक्क´, चित्रलहर´ र शनिबारको दिनमा फिल्म हेरेको ।
साइँलाबाले गाउँबासीलाई दिन बाँकी केही थिएन, सबथोक दिनुभएको थियो । गाउँबासीका अभिभावक हुनुहुन्थ्यो । साइँलाबा अब हामी माझ नभए पनि उहाँसँगका सामीप्यका स्मृतिहरू झझल्को भएका छन् ।
अन्त्यमा ढाकाराम दाइ, चिन्तामणि दाइ, टोलनाथ दाइ, घनश्याम, माधव र प्रेम भाइसहित सम्पूर्ण `दुइदैले´ परिवारजनमा हार्दिक समवेदना । साइँलाबाको बैकुण्ठबास होस्, हार्दिक श्रद्धाञ्जलि ।





