गैंडाकोट, १३ फागुन ।
गैंडाकोटस्थित परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औं वार्षिक साधारणसभा गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले सहकारी संस्था बचत र ऋणमा मात्रैमा केन्द्रित नभई व्यवसायिक गुणस्तर अभिवृद्धि गर्नतर्फ लाग्नुपर्ने बताएका छन् । `सहकारीले सेयर सदस्यहरुलाई सहकारीको मुल्यमान्यताका विषयमा जागरुक बनाउँदै अघि बढ्नुपर्छ´, अधिकारीले भने – `अनि मात्र सेयर सदस्यको जीवनस्तर बदलिन सक्छ ।´
कार्यक्रमका विशेष अतिथि चितवन तथा नवलपुर क्षेत्रका सहकारी अभियन्ता इन्द्रराज ज्योति पौडेलले जिल्लाका सहकारीहरुले दिगो विकासमा महत्वपूर्ण आर्थिक सहयोग गर्दै आएको बताएका छन् । `आगामी दिनमा योभन्दा फरक किसिमबाट सहकारीलाई व्यवस्थापन पक्षले सेवामूलक बनाउनु पर्नेछ´, पौडेलले भने – `सहकारीका माध्यमबाट सदस्यको जीवनस्तर परिवर्तन गर्न सकिने र समुदायमा आधारित सहकारीको खाँचोलाई सहकारीको मूल्यमान्यता र सिद्धान्तका आधारमा रहेर अघि बढ्नुपर्छ ।´
कार्यक्रममा गैंडाकोट- ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, शान्ति न्यौपाने, उषा परियार, केशव शर्मालगायतले सहकारीको विषयमा बोलेका थिए ।
झन्डै ५ हजार सेयर सदस्य रहेको सहकारीको कुल सम्पति १३ करोड, १२ करोड लगानी र १० करोड बचत रहेको वार्षिक प्रतिबेदनमा जनाइएको छ । सचिव प्रकाश सापकोटा र कोषाध्यक्ष कृष्ण पराजुलीले आ-आफ्नो प्रतिबेदन पेस गरेको कार्यक्रममा उपस्थित सदस्यलाई सहकारीका उपाध्यक्ष जीवन चौधरीले स्वागत गरेका थिए ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई व्यवस्थापक गोविन्दप्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।





