भरतपुर, १२ फागुन
सनराइज इङ्ग्लिस स्कुलले प्राथमिक तहका विद्यार्थीहरुका लागि जिल्लास्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको बहुउद्देश्यीय सभाहलमा शुक्रबार सम्पन्न प्रतियोगितामा चितवनका १२ वटा विद्यालयका नृत्य समूहले नृत्यकला प्रस्तुत गरेका थिए ।
विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक कञ्चन लामाले गरेकी थिइन् । प्रमुख अतिथि अर्यालले यस किसिमको कार्यक्रमले बालबालिकामा लुकेको प्रतिभा अभिव्यक्त गर्ने बताउँदै यस किसिमका कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।
विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले विद्यालयले शिक्षण सिकाइका साथै अतिरिक्त कृयाकलापको माध्यमबाट बालबालिकाहरूले आफूमा एकाग्रताका साथै क्षमता विकासमा टेवा पुर्याउने र यो आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा गुरूकुल माध्यमिक विद्यालय प्रथम, श्री भद्रकाली आधारभूत विद्यालय द्वितीय र नारायणी पब्लिक स्कुल तृतीय भएका छन् । निर्णायकको भूमिकामा नृत्य प्रशिक्षक राज घिमिरे र सागर विक रहेका थिए ।




