भरतपुर, ९ फागुन ।
बिदाको दिनमा पनि विद्यालयमा विद्यार्थीको बाक्लो उपस्थिति थियो । स्काउट पोशाकमा सजिएका विद्यार्थीहरु कोही डोरी चढ्न, कोही सीँढी उक्लन, कोही बाँसको पुल तर्न, कोही झोलुङ्गे पुल चढ्न व्यस्त थिए । अनुहारमा विभिन्न सन्देशमुलक र चिनारीका चित्र कोरेका ११ देखि १५ वर्ष उमेरसम्मका स्काउटका विद्यार्थीले व्यावहारिक ज्ञान सिकिरहेका थिए । अभ्यासका क्रममा गरिएको दु:खमा उनीहरू रमाईरहेको देख्न सकिन्थ्यो । माडीबाट क्याम्पमा सहभागी हुन आएका विवश अधिकारीले भने- `हामी पैसा तिरेर दु:ख सिक्न आएका छौँ । शारिरीक अभ्यास र शरिर स्वास्थ बनाउने उपायसँगै विभिन्न जातजाति र भाषा सम्प्रदायका साथीहरुसँगको बसाईंले हामीलाई धेरै ज्ञान मिलेको छ ।´
भरतपुर- १३, चम्पानगरको श्री हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयमा देखिएको यो दृश्य शिशिरकालीन स्काउट मित्रता क्याम्पको थियो । जहाँ चितवन, मकावनपुर, तनहुँ, नवलपरासी, कास्कीलगायतका ५ जिल्लाका ४ सय बढि विद्यार्थीहरुको सहभागिता थियो । फागुन ६ गतेदेखि ८ गतेसम्म चलेको प्रतियोगितामा उनीहरु विद्यालयमानै क्याम्प बनाएर बसेका थिए ।
विद्यार्थीहरुको शारिरीक, मानसिक, सामाजिक तथा चारित्रिक व्यवहारमा सकारात्मक परिवर्तनका लागि यो किसिमको क्याम्प गर्ने गरेको भरतपुर महानगरपालिका स्काउट संयोजक शिवप्रसाद बरालले जानकारी दिए । कोभिडको कारण ३ वर्ष अघिदेखि रोकिएको यो क्याम्प पुनः सुरु भएको हो ।
विद्यार्थीहरुका लागि प्राथमिक उपचार प्रशिक्षण, वेच संचालन, योग सम्बन्धि कक्षा, मार्सल आर्ट प्रयोगात्मक अभ्यास, नृत्य प्रतियोगिता, क्याम्प फायर, शारिरीक व्यायाम, पिटी, स्काउट धर्म सभा, हाईकिङ, हन्टीङ, स्थलगत अवलोकनलगायत उद्धारको क्रममा आर्मी-पुलिसले गर्ने अभ्यासका केही साहसिक कामसहित २८ वटा अभ्यासहरू सिकाईएको थियो । क्याम्पले विद्यार्थीमा आत्मविश्वासको भावना जगाउनुका साथै मित्रता गर्ने वातावरण बढाउन सफल भएको बरालले बताए ।
श्री हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयका प्राचार्य भानुभक्त सुवेदीले कक्षामा सिकाईने ज्ञानसँगै परिवार र समाज सिकाउन क्याम्पले भूमिका खेल्ने बताए । क्याम्पमा व्यावहारिक रुपमा दैनिक गतिविधिहरु समेत सिकाईएको थियो । प्राचार्य सुवेदीका अनुसार विद्यार्थीले तीन दिनको बसाईंबाट संस्कार सिकेका छन् । शिशिरकालीन स्काउट मित्रता क्याम्पको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समेत अवलोकन गरेकी थिईन् ।




