बुद्धिचाल प्रतियोगिताको उपाधि सापकोटालाई

राप्ती, ७ फागुन
राप्ती नगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा जुनानाथ सापकोटा विजयी भएका छन् । काशिरुपा आधारभूत विद्यालयको सभाहलमा सञ्चालन भएको दुईदिने प्रतियोगितामा चितवन जिल्लाभरबाट ४१ जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम भएका सापकोटाले ७ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । द्वितीय भएका सुदीप श्रेष्ठले ५ हजार, तृतीय भएका राजु त्रिपाठीले ३ हजार, चतुर्थ भएका जंगबहादुर पुलामी र पञ्चम भएका शिशिर थापाले जनही २ हजार रुपैयाँ पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विधागत पुरस्कार पनि वितरण गरिएको छ । ५० वर्षभन्दा माथिको समूहमा प्रथम भएका कृष्ण श्रेष्ठले २ हजार, महिला प्रथम भएकी अल्बिसा घलेले २ हजार, विद्यार्थी प्रथम भएका रोहित तामाङले २ हजार, विद्यार्थी द्वितीय र तृतीय भएका क्रमशः प्रलिन अधिकारी र आरभ शर्माले जनही १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । राप्ती नगर उत्कृष्ट भएका मानबहादुर योञ्जनले २ हजार, वडा उत्कृष्ट भएका पुरुषतर्फ देवराज उप्रेतीले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथि जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष एवं प्राध्यापक कमलराज पाठक रहेका थिए । उनले जीवनमा खेलको महत्वपूर्ण भूमिका हुने बताए । बुद्धिचालसँगै अन्य शारीरिक खेलमा ध्यान दिन उनले सहभागीहरुलाई अनुरोध गरे ।
कुल १ लाख लागतमा प्रतियोगिता सम्पन्न गरिएको राप्ती नगरपालिका वडा नम्बर ४ का अध्यक्ष केदार आचार्यले जानकारी दिए । उनले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताको आयोजना गरिने बताए । वडा सदस्य रमेश श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य रमिता परियारले गरेकी थिइन् ।

समारोहमा जिल्ला बुद्धिचाल संघ चितवनका अध्यक्ष मोहन श्रेष्ठ, पूर्वअध्यक्ष प्रह्लाद सिलवाल, वडा सदस्यहरू रमेश श्रेष्ठ, झमकबहादुर श्रेष्ठ, शान्ति खुलाल, राप्ती उद्योग वाणिज्य संघका सदस्य निराज भेटवाल, शैक्षिक व्यक्तित्व मिनराज खरेल, विपी मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट