पोखरा, ६ फागुन ।
पोखरा इलेक्ट्रीकल एसोसिएसनले नेपाल विद्युतीय व्यवसायी महासंघको१३औं साधारणसभा एवं पाँचौं अधिवेशनबाट निर्वाचित समितिलाई शुक्रबार पोखराको पर्यटकीय गाउँ भुम्दी टुनारमा स्वागत एवं सम्मान गरेको छ ।
नेपाल विद्युतीय महासंघका अध्यक्ष रेशम देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भरका जिल्ला/नगर संघलाई महासंघले सूत्रबद्ध गराउँदै लैजानुपर्ने सुझाव दिए । देवकोटाले तरलता अभावका कारण सिर्जित समस्या, अस्थिर ब्याजदर, बजारमा उधारो नउठ्ने समस्या, बजार अभाव, व्यापारिक क्षेत्रमा नीतिगत अस्पष्टता र सरकारी निकायको बेवास्ताले साना एवं मझौला व्यापारी व्यावसायिक समस्याका कारण देहत्याग गर्नुपर्ने अवस्थामा पुग्नु निकै दुःखदायी भएको बताउँदै व्यापारीले बैंकबाट लिएको ऋणलाई एक अङ्कमा ल्याउन आफ्नो कार्यकालमा पहल गर्ने बताए ।
कार्यक्रममा महासंघ प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी, तृतीय उपाध्यक्ष लेखनाथ सापकोटालगायत महासंघ प्रतिनिधिहरु महेन्द्रकुमार श्रेष्ठ, केशब ढकाल, राजेश गौतम, चन्द्रकान्त शर्मा जैसी विशेष अतिथि रहेको उक्त कार्यक्रममा प्रदेश सदस्य राजु भण्डारी एसोसिएसन पूर्व अध्यक्ष मुक्तिनाथ आचार्य, नवलपुर जिल्ला अध्यक्ष सुजन अधिकारी, कार्यवाहक अध्यक्ष पोस्टमान श्रेष्ठ, बिनोद कार्की, राजेन्द्र कार्की, नीर भुजेललगायतले व्यवसायका गतिविधिका बारेमा बोलेका थिए । पोखरा इलेक्ट्रीकल एसोसिएसनका प्रथम उपाध्यक्ष शिशिर मिश्रले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । एसोसिएसन अध्यक्ष गिरिराज बरालको अध्यक्षतामा भएको कार्यक्रमलाई कृष्णमणि भण्डारीले सहजीकरण गरेका थिए ।





