काठमाडौँ, ६ फागुन ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष (बर्न वार्ड) बन्ने भएको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई समेत उपचार नगरी अन्य अस्पतालमा रिफर गरिन्थ्यो ।
शुक्रबार गोरखापत्रमा ‘राज्यसँग छैन जलन उपचार अस्पताल’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी जलनमा परी नेपालमा उपचार सम्भव नहुँदा उहाँको इच्छाविपरीत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारमा लगिएको सन्दर्भमा अन्य सञ्चार माध्यमले पनि यस विषयलाई प्राथमिकतासाथ उठाएका थिए ।
वीर अस्पतालमा शुक्रबार नयाँ कार्यकारी निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त भएसँगै उनले नयाँ बनेको सर्जिकल भवनमा अत्याधुनिक बर्न वार्ड बनाउने निर्णय गरेका छन् । उनले तीन महिनाभित्र जलनको उपचारका लागि अत्याधुनिक उपचार सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।
नवनियुक्त निर्देशक डा. पौडेलले भूकम्पपछि जलनका बिरामीको राम्रो उपचार नभएको र बर्न वार्ड नरहेकाले अब अत्याधुनिक जलन वार्ड निर्माण गरी गम्भीर बिरामीलाई पनि वीर अस्पतालमै भर्ना गरी उपचार गरिने जानकारी दिए ।
डा. पौडेलले नयाँ भवनमा जलन (बर्न) वार्ड स्थापना गर्ने र उक्त वार्ड अत्याधुनिक सेवासुविधासहितको हुने जानकारी दिए । डा. पौडेलले भने, “जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु नपर्ने गरी काम गर्नेछौँ ।” उनले वीर अस्पतालमा जलन उपचारका लागि अत्याधुनिक शल्यक्रिया कक्षसमेत बनाउने जानकारी दिए ।
क्रिटिकल बर्नका बिरामीका लागि केयर, अप्रेसन थिएटर, आईसीयूलगायतका सुविधासहित हुने उनको भनाइ छ । वीरको बर्न वार्ड बन्द हुँदा अहिले जलनसम्बन्धी बिरामीको उपचार कीर्तिपुर अस्पतालमा हुँदै आइरहेको छ ।
निर्देशक डा. पौडेललाई स्वास्थ्यमन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै वीर अस्पतालको निर्देशक पदमा नियुक्त गरेका हुन् । डा. पौडेललाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारीसमेत हेर्ने गरी छुट्टै नियुक्तिपत्र दिइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।





