देवघाटधाम, १ फागुन
हरेक वर्ष फेब्रुअरी १४ तारिखमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउने गरिन्छ । युवापुस्तामाझ यो दिवस परिचित छ । दिवसको सन्दर्भमा विविध कार्यक्रम हुने गर्छन् । यही सिलसिलामा प्रणय दिवसको अवसर छोपेर गजलप्रेमी युवाहरुको संस्था गजल मञ्च चितवनले सोमबार ‘गजलसँग…’ कार्यक्रम आयोजना गर्यो । गजल मञ्च चितवनले ‘गजलसँग…’ को नवौँ शृंखला प्रणय विशेष गजलवाचन गरेर मनाएको हो ।
तनहुँको देवघाटधाममा आयोजना गरिएको कार्यक्रमलाई मञ्चकी सचिव सरगम पारुले सहजीकरण गरेकी थिइन् । महेश संस्कृत गुरूकुलम् देवघाटधाममा गरिएको कार्यक्रममा विभिन्न गुरूकुलका विद्यार्थी सहभागी थिए ।
महेश संस्कृत विद्यापीठ गुरुकुलम्का शिक्षक निराजन पन्तले स्वागत मन्तव्य राख्दै गजल वाचन कार्यक्रमको सुरुवात गरेका थिए । पन्तले सहभागी अतिथिलाई स्वागत गर्दै गजल सुनाए । प्रेम गर्न जानेमा सबै चिज प्यारा लाग्छन् भन्ने आशय पन्तले राखे ।
घाममा छ जूनमा छ प्रेम भरिभराउ
खाली प्रेमी हुनमा छ प्रेम भरिभराउ

पन्तको स्वागत मन्तव्यपछि गजल वाचन सुरु भयो । सुरुवातमा विवेक पराजुलीले गजल प्रस्तुत गरे ।
यही आधार हो तिम्रो नजाऊ मार्ग छोडेर
रुँदै आमा सधैँ भन्छिन् नजाऊ देश छोडेर
त्यसपछि गजल लिएर प्रदीप कोइराला आए । कोइरालाले गजलमार्फत आँखाको भाव प्रस्तुत गरे ।
यी आँखाहरुको कहानी अलग छ
यहाँ सिन्धुको एक खानी अलग छ
गजल मञ्च चितवनका उपाध्यक्ष रामकृष्ण अनायासले देवघाटमा आएर प्रणय विशेष गजल वाचन गर्नुको उद्देश्यबारे बोले । गुरूकुलका विद्यार्थीको गजल साधना लोभलाग्दो रहेको अनायासले बताए । उनले एउटा गजल पनि सुनाए ।
तिम्रो र मेरो बाँच्ने यौटै आधार छ
मन मिल्नु पर्छ सपना साकार छ
त्यसपछि प्रदीप अधिकारी आए । अधिकारीले आफ्नो जीवन कहानीलाई शेरमार्फत सजाए ।
मेरो सारा जिन्दगी जसको सहारामा निस्क्यो
उनी मलाई खरानी बनाउन चितामा निस्क्यो
अर्का स्रस्टा अनिल सुवेदीले प्रणयभावकै गजल प्रेमिकालाई समर्पण गरे ।
मैनबत्ती बिस्तारै पग्लिएर मरेको छ
तिमीलाई उज्यालो नासो दिएर मरेको छ

गजल लेखेरै ख्याति कमाएका गोविन्द गोपाल खतिवडा गोगोले पनि कार्यक्रममा गजल प्रस्तुत गरे । गलेश्वर आश्रमका खतिवडाले छिमेकीको हस्तक्षेपलाई गजलको भावमा ढालेका थिए ।
छिमेकी हान्छ ढुंगाले सिमानामा सिसालाई
सुनेको छैन सागरले हिमालयको कथालाई
कार्यक्रम सुन्न चितवनबाट देवघाट गएकी देवी शर्माले पनि गजल प्रस्तुत गरिन् । शर्माले पनि गजलमा प्रितका कुरा गरेकी थिइन् ।
मन मिलोस् नमिलोस् प्रित हुँदोरहेछ
झुटो बोल्नेको नै यहाँ जीत हुँदोरहेछ
लगत्तै अर्का स्रस्टा प्रह्लाद आचार्यले गजल सुनाए । आचार्यले गजलमा दुःख, पीडा र आँसुका भाव सजाएका थिए । जो रुन्छन् उनीहरू नै वास्तविक खुसी हुन्छन् भन्ने भाव उनको गजलले बोलेको थियो ।
दुःख पीडा अभाव आँसुले धुनेहरु
जीवनमा प्रायः खुसी हुन्छन् रुनेहरू
त्यसपछि अनुज पाण्डे आए । पाण्डेले प्रेम गर्दा कताकता अलमल भएको भाव गजलमा पोखे ।
गाउँछु गीत भन्दा भाका कतै मिलेनन्
खै प्रेम गर्छु भन्दा आँखा कतै मिलेनन्
त्यसपछि आए मुकेश खनाल । खनालले मायालुको तस्बिर दिलमा चित्रित भएको सार्वजनिक गरे ।
यौटै चिज खै किन बारम्बार भयो
दिलमा तिम्रै तस्बिर केरकार भयो
गजल मञ्च चितवनका सदस्य एवं कार्यक्रम संयोजक अविरल यात्रीले पनि शुभकामना मन्तव्यसहित कार्यक्रमका बारेमा प्रकाश पारे । अविरलले साहित्यमा देवघाटको निकै राम्रो उपस्थिति भएको बताउँदै सोही कारणले यो कार्यक्रम गर्न देवघाट आएको बताए । अविरलले गजल पनि सुनाए ।
दिएर पीर कहाँ गयौ तिमी
रोपेर झिर कहाँ गयौ तिमी ?
त्यसपछि संगम पौडेल आए । पौडेलले धर्मको कारोबार हुने प्रसंगलाई गजलमा प्रस्तुत गरे ।
भन्यौ धर्मका खातिर पुराण बेचिन सकोस्
कसरी प्राणका खातिर पहिचान बेचिन सकोस् ?
कार्यक्रम सञ्चालक सरगम पारुले पनि गजल प्रस्तुत गरिन् । परिवर्तनशील समय र मानवीय स्वभावलाई गजलमा ढालेकी थिइन् ।
वायुपङ्खी समय बदलिने क्रम जारी छ
बाबुआमा आश्रम, घरमा छोरा बुहारी छ
त्यसपछि आएका देवेन्द्र सापकोटाले मायाका असजिला पक्षलाई गजलमा उतारे ।
जब माया कमजोर हुन्छ तब घात आउँछ
जस्तो कि दिन कमजोर भएपछि रात आउँछ
कार्यक्रमका विशिष्ट अतिथि रेशम विरहीले पनि मन्तव्य राख्दै संयोगले कार्यक्रममा गजल सुन्न आएको बताए । ‘नेपालगन्जमा बस्दा मुसायरामा गजल सुनेको छु । भारतको कानपुर, लखनऊमा पुगेर पनि गजल सुनेको छु । लखनऊमा दुई रातसम्म मुसायरामा गजल सुनेको छु । गजल साहित्यको प्रणय भाव हो, मलाई गजल सुन्दा अलग्गै आनन्द आउँछ’, विरहीले भने ।
कार्यक्रममा रञ्जन गौतमले पनि गजल सुनाए । उनले गजलमार्फत आफ्नी मायालुलाई सम्झिए ।
भन्छन् संसारमा सबैभन्दा ठूलो सास हो
मेरो लागि त सबैभन्दा ठूलो तिम्रो आश हो
पत्रकार सूर्यप्रकाश कँडेलले पनि कार्यक्रममा सहभागी भएर गजल सुन्दा आनन्द लागेको बताए । कहिलेकाहीँ यसरी गजल मेहफिलमा बस्दा छुट्टै ऊर्जा प्राप्त हुने कँडेलले सुनाए । सुन्दर जमघटमा गजल सुनाउने मोह उनले पनि त्याग्न सकेनन् । पचासको दशकदेखि गजल सिर्जना गर्दै आएका कँडेलले साठीको दशकमा लेखिएको गजल सुनाए । गजल लेखनको सुरुवातमा पनि चितवन र वरिपरि हुने गजल गोष्ठीहरुमा सहभागी भई गजल सुनाएका दिनहरु कँडेलले स्मरण गरे । अहिले चितवन र यस वरपर गजलको माहोल राम्रो रहेको उनले बताए ।
गाला रातो यसै थियो झन् रंग थपियो
मनमा हर्ष यसै थियो उमंग थपियो
कार्यक्रमका प्रमुख अतिथि रमेश प्रभातले गजल मञ्चले गजलको श्रीवृद्धि चाहेको बताए । प्रभात गजल मञ्चका पूर्वअध्यक्ष समेत हुन् । ‘देवघाट नहुँदो हो त चितवनको गजल आजको अवस्थामा पुग्ने थिएन । गजल गेय विधा हो, छन्दमा लेख्न सक्नु पर्छ । छन्दमा लेख्न नसके मात्रा त मिलाउनै पर्यो’, प्रभातले भने । उनले गजल पनि सुनाए ।
जैलेदेखि ओझेल पर्यो कोही आँखाबाट
उठेको छ सारा दृष्टि हिँड्ने पाखाबाट
कार्यक्रमको अध्यक्षता गरेका मञ्चका अध्यक्ष लेखराम सापकोटाले गजल मञ्च चितवनले प्रणय दिवसमा गजल सम्बन्धि कार्यक्रम गर्दै आएको बताए । ‘देवघाट साहित्यको खानी हो, काव्यको खानी हो’ सापकोटाले भने, ‘तपाईंहरूले अभ्यास जारी राख्नु होला । यहाँ आएर राम्रा शेर सुन्न पाएका छौँ ।’
कार्यक्रममा सापकोटाले वरिष्ठ कवि एवं गजलकार गोविन्दराज विनोदीको गजल सुनाए ।
तिमी साथमा छौ र पो जिन्दगी छ
मभित्रै बगेको खुशीको नदी छ
दिलैमा जडेको हुँदाखेरि माया
चलेको ममा सासको यो घडी छ
म यो प्रीतको गीत लेख्दै रहन्छु
जहाँसम्म यो भावनाको मसी छ
त्यही ठाउँमा ईश हुन्छन् बसेका
जहाँ प्रेमपूजा तथा आरती छ
छ संसारको सार मानौँ तिमीमा
र त्यो विम्ब यी नेत्रमा झल्झली छ
देवघाटमा आएर कार्यक्रम गर्न पाउँदा मञ्चको गरिमा बढेको बताउँदै अध्यक्ष सापकोटाले यहाँका स्रष्टाहरुलाई गजल साधनामा लागिरहन आग्रह पनि गरे । सापकोटाले कार्यक्रमकै अवधिमा सिर्जना गरेको गजल सुनाएर कार्यक्रमलाई बिट मारे ।
अनकन्टार छिचोलेर जहाँ घाम उदाउँछ
तिमीले दिएको फूल यसै मुस्कुराउँछ
छटपटी हुन्छ जब एक्लै रहँदा
तिम्रो छायाले पनि मन रमाउँछ




