जलाधार क्षेत्रको संरक्षणका लागि नारायणी नदी सम्मेलन

गैँडाकोट, १ फागुन
गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले मानवीय आचारणका कारण प्राकृतिक सम्पदामा असर परेको बताएका छन् ।
सहमति संस्थाको आयोजनामा गैँडाकोटमा नारायणी जलाधार संरक्षणका लागि आयोजित नारायणी नदी सम्मेलनमा बोल्दै उनले मानव सिर्जित विविध कारण प्राकृतिक सम्पदामा असर परेको बताए । पानी जीवनका लागि अपरिहार्य रहेको बताउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । मन्त्री गुरुङले नारायणी नदी सम्मेलनले प्रदेशको नीति बनाउन सघाउ पुग्ने विश्वास समेत व्यक्त गरे ।

विज्ञान तथा प्रविधि पूर्वमन्त्री ई. गणेश शाहले नदी आमा समान गंगाको रुपमा लिइने र आमाले जस्तै पोषण दिइरहने भएकाले यसको संरक्षण जरुरी रहेको बताए । उनले प्रदेश नीति बनाउँदा सरंक्षण कार्यलाई प्राथमिकतामा राख्न मन्त्री गुरुङको ध्यानाकर्षण गराए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा पानीको महत्व अति नै रहेको बताउँदै पानीलाई सार्वजनिक सम्पत्तिका रुपमा लिँदै नारायणी, राप्ती र रिउलगायतका नदीमा हुने दोहन रोक्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जलवायु परिवर्तनले गर्दा ठूला बाढी आउने क्षति पुराउने गरेकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए । गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले नारायणी नदीलाई स्वच्छता कायम राखी जलचरको संरक्षणका लागि मुहानदेखि नै संरक्षण कार्य प्रराम्भ गरिनुपर्नेमा जोड दिए ।

भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले मानव जाति र प्राणीका लागि अपरिहार्य पानी र नारायणी नदीलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थापन जरुरी रहेको बताउँदै नारायणी नदी किनारमा विसर्जन गरिँदै आएको फोहोर व्यवस्थापन गरिने बताए ।
गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बाढीका कारण नदीजन्य पदार्थ भारततर्फ बगेर खेर गएको जनाउँदै त्यस्ता पदार्थको उपभोग एवं सदुपयोग गर्न मिल्ने ऐनको व्यवस्था गर्नुपर्ने बताइन् ।

गैँडाकोटका पूर्व नगर प्रमुख छत्रराज पौडेलले एक सामुदायिक वन एक जलाधार निर्माणमा जोड दिँदै अन्तरपालिका एवं जिल्लाबीच समन्वय गरी नारायणी नदी व्यवस्थापनमा जोड दिनुपर्ने बताए । गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद शर्माले पानी संरक्षणमा गैरसरकारी संस्थाहरुको भूमिका अहम् रहेको बताए ।

आईसेट नेपालका सल्लाहकार एवं सञ्चालक अजय दिक्षितले नदी, लय र उत्थानशीलताबारे प्रकाश पार्दै जीव प्रणाली, अर्थ प्रणाली र समताको समन्वय हुनुपर्ने बताए । डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले पानीबिना जीवन कल्पना समेत गर्न नसकिने बताउँदै पानी शिक्षा चलाउनुपर्ने बताए । जलाधार क्षेत्रमा भएका प्रदुषण रोक्दै पानीसँग जोडिएका धर्म, संस्कार रीतिरिवाज एवं संस्कृति, उद्योग सञ्चालन, जलवायु परिवर्तन, नदी संरक्षण तथा सम्बर्द्धन एवं जैविक विविधताका विषयमा सचेत बन्नुपर्ने बताए ।

सहमतिको ‘सिमसार क्षेत्र पुनस्र्थापना र नारायणी तटीय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाका संयोजक दिनेश बस्ताकोटीले नारायणी जलाधार क्षेत्र तथा यहाँ रहेका पानीका स्रोत संरक्षण यसको उपभोग गर्नका लागि सम्बन्धित निकायहरुसँग छलफल गरी मानव र प्रकृतिको लागि संयुक्त कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने बताए ।
सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सिमसार क्षेत्रहरुको संरक्षण, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने कार्यमा सहजीकरण गर्दै आएको बताए ।

डब्लुडब्लुएफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सञ्चालित सम्मेलन २ गतेसम्म चल्ने छ । सम्मेलनमा सरोकारवाला एवं संरक्षणकर्मीबीच गहन छलफल गरी जलाधार संरक्षणका उपायहरु अवलम्बन गर्न मार्ग प्रशस्त गरिने जनाइएको छ । ग्रिन पिक्सेलसँगको सहकार्यमा सहमतिले यसअघि नवलपुर, चितवन र मकवानपुरमा पटक–पटक कार्यशाला गरी संयुक्त कार्ययोजना तयार गरेको थियो । सो अवसरमा मन्त्री गुरुङले जलाधार क्षेत्र संरक्षण कार्ययोजना विमोचन गरेका थिए ।

सम्मेलनले यस क्षेत्रमा गरिएका अध्ययन, अनुसन्धानहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ । नारायणी नदीसँगै सहायक नदी र खोलाहरु पानीको मुख्य स्रोत भएकोले यी क्षेत्रमा गर्नुपर्ने कामका विषयमा निचोडमा पुगिने सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले जानकारी दिए ।
सम्मेलनमा नारायणी नदी जलाधार क्षेत्रमा भएका प्रदुषण, योसँग जोडिएका धर्म, संस्कार रीतिरिवाज एवं संस्कृति, जलवायु परिवर्तन, नदी संरक्षण तथा सम्वद्र्धन एवं जैविक विविधताका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै समूहगत रुपमा छलफल चलिरहेको छ ।

नारायणी जलाधार क्षेत्रले नवलपुर, चितवन र मकवानपुर गरी ४ लाख ६८ हजार हेक्टर क्षेत्र ओगटेको छ । यहाँका ११ लाख व्यक्ति लाभान्वित छन् । पानी खानेपानीको आधार, बिजुली बत्तीको आधार, कृषि सिंचाईको आधार, पर्यटनको आधार, धार्मिक अनुष्ठानका लागि, जलचरको बासस्थान लगायत जनजीविकाको आधार भएकाले पानीको व्यवस्थापनमा बहस भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट