भरतपुर, १ फागुन
स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ । सोमबार थप तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा स्थान बनाउने सबै आठै टोलीको टुंगो लागेको हो ।
पहिलो खेलमा थापागाउँ भेट्रानले दरबार भेट्रान नुवाकोटलाई पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान बनायो । थापा गाउँले नुवाकोटको पोष्टमा आधा दर्जन गोल ग¥यो । थापागाउँको फराकिलो जितमा सुनिलकुमार सुवेदीले ह्याट्रिक गरे । शशी थापाले दुई र सुमन श्रेष्ठले एक गोल गरे । नुवाकोटका डम्बर शाहले एक मात्र गोल गरे ।
खेलमा अग्रता भने नुवाकोटले लिएको थियो । छैटौं मिनेटमा गोल गर्दै डम्बरले नुवाकोटलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको थापा गाउँले खेलमा उत्कृष्ट कमब्याक ग¥यो । पहिलो हाफको अन्तिम मिनेटमा सुनिलले थापा गाउँका लागि बराबरी गोल फर्काए । लगत्तै पहिलो हाफको अतिरिक्त मिनेटमा सुमनको गोलमा थापा गाउँले अग्रता लियो ।
दोस्रो हाफको तेस्रो मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । १३ औं मिनेटमा उनले ह्याट्रिक पूरा गरे । २५ औं मिनेटमा शशीले गोल गर्दै थापागाउँको अग्रता बढाए । २८ औं मिनेटमा शशीले व्यक्तिगत दोस्रो गोल गरेपछि थापागाउँले ६–१ को फराकिलो जित दर्ता गर्यो । थापागाउँका सुमन म्यान अफ दि म्याच भए ।
दोस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लबले बगरभाई खलक पोखरालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लब टाईब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पुलिसले ५–४ को जित निकाल्यो ।
त्यसअघि खेलको २० औं मिनेटमा शशी गौतमले पुलिसका लागि गोल गरेका थिए । दोस्रो हाफको चौथो मिनेटमा बगरभाई खलकका राजकुमार तामाङले बराबरी गोल फर्काएका थिए । पुलिसका गोल रक्षक राजेन्द्र गौतम म्यान अफ दि म्याच भए ।
तेस्रो तथा अन्तिम खेलमा कलकत्ता विजयी भयो । कलकत्ताले फ्रेन्ड्स भेट्रान कुपन्डोललाई १–० ले हरायो । उसको जितमा प्रोबिर कुमारले गोल गरे । दोस्रो हाफको २९ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । कलकत्ताका गोलरक्षक सुरोजित म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा मंगलबारबाट क्वाटरफाइनल चरणका खेलहरु हुनेछ । पहिलो क्वाटरफाइनल खेलमा बिहान ११ बजे बर्दघाट भेट्रान नवलपरासी र आयोजक चितवन भेट्रान निलो भिड्नेछन् । दोस्रो खेलमा दिउँसो १ बजे साविक विजेता फ्रीडम फाइटर ठमेल र कलकत्ता भेट्रान भारत तथा तेस्रो खेलमा दिउँसो २ः३० बजे एक्स महेन्द्र पुलिस क्लब र चाबहिल भेट्रान भिड्नेछन् । चौथो तथा अन्तिम खेल दिउँसो ४ बजे आयोजक चितवन भेट्रान रातो र थापागाउँ सुधार समिति भेट्रानबीच हुनेछ ।
चितवन भेट्रान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सहआयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।




