भरतपुर, १ फागुन
नारायणी ई. पब्लिक स्कुलमा जिल्लास्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न आठ विद्यालयको उपस्थिति रहेको थियो ।
विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पसका रसायन शास्त्र सहप्रध्यापक मनोज विष्ट प्रमुख अतिथि रहेका थिए । प्लस टु संयोजक जनकराज घिमिरे, विद्यालयका निर्देशक अनिता खनाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम संयोजक विद्यालयका विज्ञान विषय विभाग प्रमुख श्रीकृष्ण तिमिल्सीनाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा निर्णयकको भूमिकामा वीरेन्द्र बहुमुखी क्याम्पसका भौतिकशास्त्र विभागका डा. अरुणकुमार शाह, वनस्पति शास्त्रकी सृजना अधिकारी र रसायन शास्त्रकी प्रियंका शर्मा रहेका थिए ।
कार्यक्रममा उत्कृष्ट प्रस्तुति राख्दै अङ्कुरम् एकेडेमीले तृतीय स्थान, वाल्मिकी शिक्षा सदनले द्वितीय स्थान र नारायणी नमूना मा. वि ले प्रथम स्थान प्राप्त गर्न सफल भए । विजयी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रमका अध्यक्ष वेदराज न्यौपानेले कार्यक्रम सफलतापूर्वक समापन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख नवीन बगालेले जानकारी दिए ।




