काठमाडौं, १ फागुन ।
नेपाल विद्युतीय व्यावसायी महासंघको तेह्रौँ वार्षिक साधारणसभा एवं पाँचौँ अधिवेशन काठमाडौँमा शनिवार सम्पन्न भएको छ ।
महासंघले गरेको तेह्रौं वार्षिक साधारणसभा एवं पाँचौँ अधिवेशनको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले गरेका थिए । कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउँदै कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न पनि आफू लागिपरेको बताएका छन् । पौडेलले नेपाल विद्युतीय व्यावसायी महासंघले राखेको उचित प्रस्तावित अर्थ सम्बन्धि यथोचित मागलाई सम्बोधन गर्न सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरे ।
नेपाल विद्युतीय व्यावसायी महासंघको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवाल, नेपाल विद्युतीय व्यावसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेललगायत विशेष अतिथि रहेको कार्यक्रमको अध्यक्षता नेपाल विद्युतीय व्यावसायी महासंघका अध्यक्ष एवं कार्यक्रमका सभापति सुदर्शनप्रसाद पौडेलले गरेका थिए । पौडेलले नेपालको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकास तथा विद्युत् क्षेत्रसँग प्रत्यक्ष संलग्न रहेका तथा यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण उद्योग, व्यवसाय एवम् पेसामा आबद्ध सबैलाई नगर, जिल्ला, क्षेत्रीय संघ एवं एसोसियट सदस्यमार्फत संगठित तुल्याई व्यावसायिक हकहितको संरक्षण साथै उपभोक्ता समक्ष स्तरीय सेवा सुविधा दिने प्रतिवद्धता महासंघले गर्ने बताउँदै आगामी कार्यसमितिले निर्माणाधीन भवनलाई सहज रुपमा समापन गर्नेमा आफू ढुक्क भएको बताए ।
नेपाल विद्युतीय व्यावसायी महासंघको नेपाल भरमा २२ नगर/जिल्ला संघ एवं ७० एसोसिएट सदस्यहरु रहेको छाता संस्थाको पाँचौँ अधिबेशनका लागि केही पदमा सहमति भएसँगै गण्डकी प्रदेशबाट प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसि र गण्डकी प्रदेश सदस्यमा राजु भण्डारी निर्बिरोध बिजयी भएका छन् । द्वितीय उपाध्यक्ष कोमल पोख्रेल, तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा, महासचिव गोपाल अग्रवाल, सचिव विनोद लुइँटेल, कोषाध्यक्ष, सह-कोषाध्यक्ष र कार्यकारिणी सदस्य बिच प्रतिस्पर्धा भएको अधिवेशनमा कोषाध्यक्ष पदमा रुपन्देहीका प्रकाश पाण्डे विजयी भएका थिए । सहकोषाध्यक्षमा तनहुँका महेन्द्र श्रेष्ठले बाजी मारेको चुनावमा कार्यकारिणी ७ पदमा भएको प्रतिस्पर्धामा पोखराकै केशव ढकाल, नवलपुरका चन्द्रकान्त शर्मा र अन्य प्रदेशबाट शंकर पोख्रेल, राजेश गौतम, शिवराज रिजाल विजयी भएको महासंघका लागि निर्विरोध अध्यक्षपदमा चुनियका रेशम देवकोटाले बताए ।
नेपाल विद्युतीय व्यावसायी महासंघको तेह्रौं वार्षिक साधारणसभा एवं पाँचौँ अधिवेशनको उद्घाटन सत्रको सहजीकरण संघका महासचिव कोमल पोख्रेलले गरेका थिए । उद्घाटन सत्रमा नवनिर्मित संघको भवन निर्माणकार्यमा उत्कृष्ट योगदान गरेका र नेपाल भर रहेका जिल्ला तथा नगर संघले उत्कृष्ट कार्य गरेको भन्दै महासंघले सम्मान समेत गरेको छ ।




