लेखक चौधरीको विद्यालयमा `टुवरा´ विमर्श

भरतपुर, २९ माघ ।
अमर मावि पदमपोखरी, भरतपुर २२ मा २०७९ माघ १५ गते विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको थियोे । माघ मसान्तमा उक्त समारोहको समीक्षा गर्ने क्रममा सोही विद्यालयका शिक्षक एवम् लेखक मनोज चौधरीको `टुवरा´ उपन्यासको विमर्श गरिएको छ । चौधरीको यसअघि `टुकी´ उपन्यास प्रकाशन भएको थियो । चौधरीले दुबै उपन्यासमा थारू जनजीवनको कथालाई समेटेका छन् ।

विमर्श कार्यक्रमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रगबहादुर गुरुङले अध्यक्षता गरेका थिए । कार्यक्रममा अतिथिका रूपमा शिक्षा समन्वय इकाई भरतपुर महानगरपालिकाका लेखा अधिकृत शिव ढुङ्गाना रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै विद्यालयका सहायक प्रधानाध्यापक तिलक पाण्डेले अमर माविको चौतर्फी विकास हुनलाई शिक्षक, कर्मचारी, विद्यार्थीलगायत अभिभावकमा पनि पठन संस्कृति बसाल्नु जरुरी रहेको बताए । `पढ्ने बानी बसाल्नको लागि अतिरिक्त किताबहरुको ठूलो भूमिका रहन्छ । टुवरालगायतका पुस्तक पढेर स्रस्टालाई प्रोत्साहन गर्नुपर्छ´, पाण्डेले भने । विद्यालयका निवर्तमान शिक्षक प्रतिनिधि तोयनाथ पौडेलले हामी माझ भएका स्रस्टालाई हामीले नै प्रोत्साहन गर्न सकेनौं भने सबैभन्दा ठूलो भुल हुने धारणा राखे । `मनोज सरको टुवराको चर्चा देशविदेशमा छाइरहेको छ । किताबको माग बढ्दो छ । पाठक प्रतिक्रिया राम्रो आइरहेको छ । वहाँको पहिलो कृति टुकी उपन्यासले पनि यसअघि राम्रो बजार लिएको थियोे । आशा छ यो टुवराले अझ राम्रो चर्चा पाउनेछ´, पौडेलले भने ।

यसैगरी विद्यालयका प्रधानाध्यापक बुद्धिमान शर्माले टुवरा पढ्नैपर्ने सामाजिक उपन्यास भएको बताए । `यस उपन्यासमा निमुखा किसानसँगै छुतिहरको मार्मिक कथा छ, पुस्तकको बारेमा सबैतिरबाट राम्रो प्रतिक्रिया सुन्न, पढ्न पाउँदा खुसी लागेको छ । हाम्रो विद्यालयको गौरवको रूपमा मनोज सरलाई मैले लिएको छु´, शर्माले भने ।

कार्यक्रमका अतिथि शिव ढुङ्गानाले भरतपुर महानगरपालिका भित्र रहेका स्कुलमा साहित्यिक प्रतिभा हुनु, त्यसैमाथि शिक्षण पेसामा आबद्ध भइकन समय जोहो गरेर दुई-दुई वटा उपन्यास प्रकाशन गर्नु सानोतिनो मेहनतले सम्भव नहुने भन्दै यसखाले प्रतिभालाई प्रोत्साहित गरि अन्य व्यक्ति, शिक्षकहरुमा पनि उर्जा र हौसला प्रदान गर्न सुझाव दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रगबहादुर गुरुङले मनोज सरको टुवराले देश-विदेशमा पाठकहरुको चर्चा बटुलिरहेको अवस्था हामी आफै बेखबर हुनु आफ्नो कमजोरी भएको स्वीकार गरे । `हामी यहीँ नजिकैकाले समेत टुवरा स्पर्श समेत गर्न पाएका छैनौं, अर्थात् हामीमा पठन बानी नभएको हो । नजिकैको तीर्थ हेला भनेजस्तै पनि भएको हो कि ! हामी शिक्षक अभिभावकमै पढ्ने बानी नभए विद्यार्थीमा कसरी पठन संस्कृतिको विकास गर्ने ? त्यसैले बिबिध आयामका किताब पढौँ । विद्यार्थीमा पनि पढ्ने बानीको विकास गर्न पुस्तकालयमा टुवरालगायतका पुस्तक पनि राखौँ । फरक विधाका किताब पठनले विद्यार्थीमा बौद्धिकता वृद्धि हुनेछ´, गुरुङले भने ।

कार्यक्रममा विद्यालय शिक्षक प्रतिनिधि कुलप्रसाद सापकोटा, निमावि इन्चार्ज छबिलाल उपाध्याय, प्रावि इन्चार्ज रामचन्द्र रेग्मीले मन्तव्य राख्दै सहकर्मी शिक्षक एवम् लेखक मनोज चौधरीको साहित्यिक योगदानको चर्चा गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट