भरतपुर, २९ माघ
श्रीराम मन्दिरमा आयोजना गरिएको महायज्ञबाट ४० लाख रुपैयाँ संकलन भएको छ । भरतपुर ५, कल्याणपुरमा रहेको श्रीराम मन्दिरमा सत्तलसहितको भौतिक पूर्वाधार निर्माणका लागि २३ माघ देखि श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ २०७९ आयोजना गरिएको थियो ।
७ दिनसम्म आयोजना गरिएको महायज्ञमा स्थानीय जयकुमारी आचार्यले ५ लाख ५ सय ५१ रुपैयाँ सहयोग गर्दै महायज्ञमा सबैभन्दा धेरै सहयोग गर्ने चन्दादाता बनिन् । मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष नारायण आचार्यका अनुसार महायज्ञको समयमा दुई वटा तुलादान समेत भएका थिए । महायज्ञ सम्पन्न गर्न झण्डै १० लाख रुपैयाँ खर्च भएको आयोजकको अनुमान छ ।
मन्दिरमा निर्माणाधीन सत्तललाई पूर्णता दिन र थप भौतिक पूर्वाधार विकासका लागि महायज्ञ लगाइएको थियो । श्रीराम मन्दिर समितिका अध्यक्ष एवम् महायज्ञ मूल समारोह समितिका संयोजक यमप्रसाद आचार्यका अनुसार लक्ष्य अनुसार नै रकम संकलन भएको छ । ‘हामीले झण्डै एक दशकअघि १ करोड लागत अनुमान गरेर तीनतले भवन निर्माण शुरु गरेका थियौँ । आर्थिक अभावका कारण सत्तलको भुईंतला समेत निर्माण हुन सकेको छैन’ अध्यक्ष आचार्यले भने, ‘यसपटक महायज्ञबाट हौसला मिलेको छ । हामीले भुईंतलालाई पूर्णता दिनेछौँ ।’
आइतबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महायज्ञको समापन गर्दै नगरपालिकाले समेत मन्दिरको भौतिक विकासका लागि सहयोग गर्ने बताएका थिए । यसअघि महायज्ञको बागमती प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्दै योजनासहित आएमा आगामी वर्षको बजेटमा मन्दिरको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
२०२३ सालमा स्थापना भएको यस मन्दिरका लागि स्थानिय धर्मप्रेमी स्व. हवल्दार सन्तमान श्रेष्ठबाट ३ कठ्ठा र स्व.तेजमान श्रेष्ठबाट १ कठ्ठा जग्गा दानगरी दैनिक पूजापाठ आरम्भ भएको थियो । देउसी भैलो र विभिन्न दाताको सहयोगमा मन्दिरक बनेका संरचनामा धार्मिक कार्यहरु सञ्चालन हुँदै आएको छ । महायज्ञबाट संकलित रकमले धर्मशाला निर्माण गरी मन्दिरलाई धामको रुपमा विकास गर्ने समितिको योजना छ ।
नारायण कृष्णचरणामृत न्यौपानेले श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा कथा वाचन गरेका थिए । महायज्ञ सम्मापन सहमारोहमा चन्दादाता सहित महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । श्री राम मन्दिर समिति, आनन्द कल्यााण आमा समूह र राम मन्दिर टोल विकास संस्थाको संयुक्त आयोजनामा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ संचालन गरिएको थियो ।





