कावासोती, २९ माघ ।
विद्यार्थी नेता सागर न्यौपानेले एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर इन्चार्ज समेत रहेका न्यौपानेले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पृथक र परिष्कृत विद्यार्थी आन्दोलनको नेतृत्व गर्न, समयमै स्ववियु निर्वाचनको लागि पहल गर्न, प्रविधिमैत्री अनेरास्ववियु निर्माण गर्न, विद्यार्थी आन्दोलन भित्रको अराजकता अन्त्य गर्नका लागि केन्द्रीय सचिव पदमा आफ्नो आवश्यकता रहेको उनले बताए ।
२०६४ सालमा अनेरास्ववियु नवलपरासीको १९ औं जिल्ला अधिवेशनमा जिल्ला प्रतिनिधि भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका न्यौपाने २० औं जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा चयन भएका थिए । २०७२ सालमा भएको २१ औं जिल्ला अधिवेशनमा १० मतले अध्यक्षमा पराजित न्यौपाने सक्रियता साथ विद्यार्थी तथा नेकपा एमालेको राजनीतिक आन्दोलनमा निरन्तर सहभागी भए । नेकपा एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपा बनेपछि अनेरास्ववियुको केन्द्रीय लेखा आयोग सदस्य बनेका न्यौपाने नेकपा विभाजनपछि एमाले निकट अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर इन्चार्ज भएका थिए ।
अनेरास्ववियु भित्र विद्रोही स्वभावका न्यौपाने देशभर विद्यार्थी माझ राम्रो सम्पर्क र परिचय भएका विद्यार्थी नेता हुन् । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल निकट रहेका न्यौपाने अधिकांश विद्यार्थीहरुले आफूलाई सचिवमा निर्वाचित गराउनेमा ढुक्क छन् ।




