चिकित्सकलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

भरतपुर, २९ माघ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलन फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गरी संघलाई  आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, “स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै संघले  माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्योपचारको नियमित काममा जुट्नका लागि सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै स्वास्थ्य सङ्घसंस्थालाई अनुरोध गर्दछौं ।”

संघले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीले घटना लगत्तै नेपाल प्रहरीले घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन गरिरहेको जनाउँदै घटनाका विषयमा थप छलफल गरी समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको जनाएका छन् ।

मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टर अगाडि सडकमा चिकित्सकमाथि भएको कुटपिटको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट