नेवार समुदायमा पण्डितको अभाव

भरतपुर, २८ माघ
नेवाः पुचः नारायणगढले नेवार समुदायका बालबालिकालाई नेवार समुदायकै पण्डित (बाजे) बाट सामुहिकरुपमा ब्रतबन्ध (कायता पूजा) र बेलविवाह (ईही) को आयोजना गर्ने भएको छ । पुचःले शनिबार नारायणगढमा रहेको पुचःको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक बेलविवाह र ब्रतबन्धबारे जानकारी दिएको हो ।

फागुन २५ गते सामुहिक ब्रतबन्ध तथा फागुन २८ र २९ गते बेलविवाह आयोजना गर्न लागिएको नेवाः पुचः नारायणगढका अध्यक्ष शुक्रकुमार श्रेष्ठले जानकारी दिए । ब्रतबन्धका लागि ४ हजार र बेलविवाहका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । ‘नेवारको कर्मकाण्ड देव बाजे (नेवारी बाजे) बाट गर्नुपर्छ’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘त्यसैले काठमाडौँबाट देव बाजे बोलाएर विधिपूर्वक सामुहिकरुपमा ब्रतबन्ध र बेलविवाह गर्न लागिएको हो ।’ आफूहरुले तोकेको रकम पर्याप्त नभएको र विधिका लागि आवश्यक सामान किन्नका लागि शुल्कको व्यवस्था गरिएको उनले प्रष्ट पारे ।

पुचः का वरिष्ठ उपाध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले चितवनमा पहिलोपटक नेवार समुदायमा सामुहिक ब्रतबन्धको आयोजना गरिएको जानकारी दिए । सामुहिक बेलविवाह यसअघि अन्य संघसंस्थाले आयोजना गरे पनि पुचः कै आयोजनामा भने पहिलो पटक हुन लागेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । पछिल्ला दिनमा नेवार समुदायमा पनि ब्रतबन्ध र बेलविवाहमा समेत अत्याधिक खर्च गर्न थालिएकोले त्यस्तो विकृतिलाई रोक्न सामुहिक ब्रतबन्ध र बेलविवाहको आयोजना गरिएको उनी बताउँछन् ।
‘एउटै विवाह वा ब्रतबन्धमा भोजमा मात्रै १० लाख रुपैयाँभन्दा बढी खर्च गर्न थाले’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘कर्मकाण्डका लागि समेत धेरै खर्च गर्ने परिपाटी विकास भयो । नहुनेले के गर्ने ? त्यही भएर यस्तो विकृति रोक्न सामुहिक बेलविवाह र ब्रतबन्धको आयोजना गरेका हौँ ।’

पुचः ले आयोजना गर्न लागेको सामुहिक बेलविवाह कार्यक्रम संयोजक सुष्मा पियाले ५, ७, ९ र ११ वर्षका नेवार बालिकाहरुको सामुहिक बेलविवाह गर्न लागिएको जानकारी दिइन् । ‘नेवार कन्या रजश्वला नहुँदै बिजोर वर्षमा बेलसँग विवाह गरिदिने परम्परा चलिआएको छ’ संयोजक पियाले भनिन्, ‘यसरी कन्याको बेलविवाह गरेपछि कहिल्यै बिधुवा हुन पर्दैन भन्ने धार्मिक मान्यता रहेको छ ।’ बेललाई शिव मानेर बेलसँग विवाह गर्ने नेवारी परम्परा रहेको उनले जानकारी दिइन् ।

सामुहिक ब्रतबन्ध कार्यक्रम संयोजक र पुचः का प्रवक्ता रमेश श्रेष्ठले तोकिएको शुल्क बुझाएपछि आवश्यक पूजासामग्री सबै आयोजकले जुटाउने बताए । कर्म चलाउने नेवार बाजे चितवनमा कोही नभएकोले काठमाडौँदेखि नेवार समुदायकै बाजे (बाहुन) बोलाउन लागिएको श्रेष्ठले स्पष्ट पारे । उनले सहभागीबाट उठाइने शुल्कले खर्च नधान्ने भए पनि सँस्कृतिलाई विकृत हुनबाट जोगाउन पुचः को सञ्चित रकमबाट खर्चको व्यवस्थापन गर्न लागिएको बताए । उनका अनुसार ५ देखि १५ वर्षको उमेरमा ब्रतबन्ध गर्ने नेवारी चलन छ ।

पुचः की महासचिव प्रविना श्रेष्ठले चितवनमा देशका विभिन्न जिल्लाबाट बसाइँ सरेर आएका नेवार समुदायलाई परम्परा मान्न आर्थिक कठिनाई नहोस् र परम्परागत कर्म चलाउँदा पनि ठूलो धनराशि खर्च गर्ने परिपाटीको अन्त्य होस् भनेर सामुहिक बेलविवाह र ब्रतबन्धको आयोजना गरिएको बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट