राप्ती, २८ माघ ।
राप्ती नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिने तालिम सुरु भएको छ । “हाम्रो समस्या, हाम्रै समाधान- मेलमिलाप” को नारा सहित राप्तीको नन्दनी पार्टी प्यालेसमा शनिबार तालिमको उद्घाटन गरिएको हो । तालिम आगामी फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय सरकार सञ्चालन ऐन- २०७४ मा मेलमिलापलाई अभिन्न अङ्गको रूपमा लिइएको छ । समाजमा भएका विवादहरूलाई स्थानीय स्तरमै समाधान गर्नको लागि मेलमिलापकर्ताको महत्त्वपूर्ण भूमिका रहन्छ ।
मेलमिलापकर्ता भई काम गर्नको लागि ४८ घण्टे आधारभूत तालिम अनिवार्य लिएको हुनुपर्ने व्यवस्थामा उल्लेख गरिएको छ । सोही व्यवस्था अनुरूप आठ दिने आधारभूत तालिमको आयोजना गरिएको हो ।
तालिममा राप्तीका १३ वटै वडाबाट सहभागीहरूको उपस्थिति रहेको थियो । न्यायिक समिति सहित ४५ जनाको सहभागिता रहेको उक्त तालिमको उद्घाटन राप्ती नगर प्रमुख शमशेर लामाले गरेका हुन् । मेलमिलापकर्ताले समाजमा भएका विभिन्न समस्याहरूलाई मेलमिलापको माध्यमबाट समाधान गर्नुपर्ने नगर प्रमुख लामाले बताए ।
जनप्रतिनिधि र जनता बीचको सम्बन्ध सुमधुर बनाउने काम मेलमिलापकर्ताले गर्ने उनको भनाइ थियो । समाजमा सुशासन कायम गर्न मेलमिलापकर्ताको आवश्यकता रहने भन्दै तल्लो सरकारबाटै राम्रो काम गरी माथिल्लो सरकारसम्म उदाहरणीय बन्नुपर्ने नगर प्रमुख लामाले उल्लेख गरे ।
मेलमिलापकर्ताको तालिम समापन पछि नगरको न्यायिक समितिलाई विवाद समाधानमा धेरै सहयोग हुने राप्ती नगर उप प्रमुख एवं न्यायिक समिति संयोजक देवेन्द्र लामाले बताए ।
कार्यक्रममा कविता अधिकारी र बन्धुराज पौडेलले प्रशिक्षण दिनेछन् । कार्यक्रमलाई सुशासन तथा विकास प्रतिष्ठान, काठमाण्डौको प्राविधिक सहयोग रहेको छ ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, न्यायिक समिति सदस्यहरू, नगर मेलमिलाप संयोजक पुष्पराज वली लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्षहरूको तर्फबाट राप्ती-७ की वडा अध्यक्ष सुमिता डल्लाकोटीले मन्तव्य राखेकी थिइन् ।
न्यायिक समिति सदस्य राम कुमार सुवेदीले स्वागत मन्तव्य राखेकाे उक्त कार्यक्रमको सञ्चालन न्यायिक सहजकर्ता विकाश मुक्तानले गरेका थिए ।





