भरतपुर, २६ माघ ।
मुस्लिम समुदायको लागि ‘दोस्रो खुल्ला नाथशरीफ प्रतियोगिता २०७९’ हुने भएको छ । मुस्लिम नेवा: वेबारिसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनको आयोजनामा यहि फागुन १ गतेबाट प्रतियोगिता सुरु हुने भएको छ ।
केन्द्रले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सो कार्यक्रमको बारेमा जानकारी दिएको हो । चितवन जिल्ला भित्र र आसपासका जिल्लामा स्थायी बसोबास गर्ने मुस्लिम समुदायका युवाको सर्वाङ्गीण विकासको लागि प्रतियोगिता गर्न लागिएको उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।
केन्द्रका अध्यक्ष साहबुदिन मन्सुरी सुल्तानले शव व्यवस्थापनका लागि मुस्लिम समुदायको नाथशरिफ प्रतियोगिता गर्न लागेको बताए । नाथशरिफमा मुस्लिम समुदायको प्रार्थना प्रतियोगिता रहेको उनले बताए । प्रतियोगिता रामेश्वर पुस्तकालय तथा वाचनालयको सभाहल क्षेत्रपुरमा हुनेछ । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट सहभागिता हुनेछन् । गतवर्ष सम्पन्न प्रथम खुल्ला नाथशरिफ प्रतियोगीतामा गोरखा निवासी इरफान बरकाती विजेता भएका थिए ।
यस वर्ष प्रतियोगितामा प्रथम हुनेलाई रु ५ हजार ५ सय ५५, दोस्रो हुनेलाई रु २ हजार ५ सय ५५ र तेस्रो हुनेलाई रु १ हजार ५ सय ५५ रुपैयाँ र कुरान शरीफ पुस्तक, मेडल तथा प्रमाणपत्र एवम् कुर्था सुरवाल पुरस्कार दिइने केन्द्रका अध्यक्ष सुल्तानले जानकारी दिए ।





