चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायी सडकमा

भरतपुर, २३ माघ
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सोमबार चितवनका उद्योगी, व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढस्थित लायन्सचोकमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकल अंकको व्याजदर कायम गर भन्दै नाराबाजीसहित विरोध कार्यक्रम गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको आह्वानमा भएको प्रदर्शनमा संघमा आवद्ध ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी, व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल गरेको आरोप लगाउदै ‘अर्थतन्त्रमा देखिएका समस्या, निजी क्षेत्रले भोगेका समस्या समाधानका उपायसहित सरकारको ध्यानाकर्षण महासंघस्तरबाटै भएकै थियो”, उनले भने, ‘समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाई भएन, अब निरन्तर आन्दोलनमा उत्रिने बताए ।

अध्यक्ष श्रेष्ठले व्यवसायी चर्को व्यादरको मारमा परेको बताए । ‘७–८ प्रतिशतको व्याजदर अहिले १६–१७ प्रतिशतसम्म पुगिसक्यो’ उनले भने, ‘ब्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनाव दिने काम रोकिनुपर्छ ।’ चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन व्यवसायीमैत्री नरहेको जीकिर गर्दै उनले भने, ‘अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकबीच नै तालमेल छैन । फरकफरक अर्थनीतिहरु छन् । एउटै आवाज, एउटै स्वर हुनुपर्छ । अर्थतन्त्र सुधार गर्न जिम्मेवार बन्नुपर्छ ।’

उनले संसद भवन अगाडि देहत्यागको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधनप्रति दुःख व्यक्त गरे । ‘प्रेमप्रसादको नियति कसैले भोग्नु नपरोस्, प्रेमप्रसादले सामाजिक सञ्जालमा लेखेका २५ बुँदे ध्यानाकर्षणका मुद्दाहरु सरकारले सुन्नुपर्छ, निजी क्षेत्रले राखेका मागहरु पनि पूरा हुनुपर्छ’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिने बताए । ‘पटकपटक वार्ता भए, छलफल भए, आश्वासन पनि पायौँ”, उनले भने ‘तर, समस्या जस्ताको तस्तै छ । भोलिको कर्जा कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।”

उनले उद्योगी, व्यवसायी निराश भएर देहत्याग गर्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले बेलैमा सोच्नुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायीले आत्मदाह गर्ने अवस्थासम्म पुग्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नभएकोले विरोधका कार्यक्रमको आयोजना गरिएको बताए ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माग पूरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिए । ‘उद्योग व्यवसाय नै धरासायी हुन थाल्यो, कोरोनापछि बिस्तारै तंग्रिदै गएको अर्थतन्त्र फेरि बिग्रिन थाल्यो’, उनले भने, ‘देशमा सरकार छ भन्ने अनुभूति व्यवसायीलाई पनि हुनुपर्छ ।” संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले उद्योगी, व्यवसायीलाई निराश पारेर देशको अर्थतन्त्र बलियो बन्न नसक्ने टिप्पणी गरे ।
संघका उपाध्यक्ष राजेन्द्र ओलीले राज्यलाई कर तिरी राज्य सञ्चालनमा योगदान दिने तर राज्यको तर्फबाट दायित्व पूरा नगर्दा व्यवसायी सडकमा ओर्लनु परेको बताए । संघका उपाध्यक्ष शिरिष पन्तले स्वदेशमै रोजगारी सृजना गर्न लागेका युवाहरु समेत विदेश पलायन हुने स्थिति आउन थालेको बताए ।

संघका कार्यकारी निर्देशक निलबहादुर केसीले व्यवसायी प्रेमप्रसाद आचार्यको १३ औँ दिनको पूण्य तिथिमा आचार्यप्रति श्रदाञ्जली सभा समेत गरिएको बताए । उद्योग वाणिज्य संघले यसअघि सम्बन्धित निकायको ध्यानार्कषण गराउने, विज्ञप्ति प्रकाशन गर्ने, डेलिगेशन जाने, अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, पत्रकार सम्मेलन गर्ने लगायतका कार्य गर्दा पनि हालसम्म कुनै सुनुवाई नभएकोले आन्दोलनको कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक केसीले बताए ।

उद्योग वाणिज्य संघ–चितवनको नेतृत्व र पहलमा सोमबार नै चितवन जिल्लाका रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, कालिका उद्योग वाणिज्य संघ, माडी उद्योग वाणिज्य संघ, इच्छाकामना उद्योग वाणिज्य संघ, नवलपुरको गैंडाकोट उद्योग वाणिज्य संघले पनि एकै समयमा आन्दोलनका कार्यक्रम गरेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट