राष्ट्रको गौरव डा. रुइत

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् डा. सन्दुक रुइत । मोतियाबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइएका उनले विश्वका अन्य मुलुकहरूमा पनि गएर सेवा गरेका छन् । विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्‍याउनु भएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ । मोतियाबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) को विकास गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै हालै उनलाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उनलाई ‘इशा अबार्ड’बाट सम्मानित गरेको छ । पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ ।

उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । तर पुरस्कारका लागि डा. रुइतले कुनै पनि मनोनयन दर्ता गराएका थिएनन् । जुरी कमिटी (निर्णायक) ले नै उनले आँखा उपचारमा पुर्‍याएको योगदानलाई महत्व दिँदै छनोट चरणमा छ वटा व्यक्ति तथा संस्था अन्तिम सूचीमा राखेपछि मात्रै जानकारी गराइएको थियो । यो अवार्ड पहिलो चोटि पाएको खबर सुन्दा विश्वास पनि लागेन भन्छन् रुइत । नेपालमा बसेर काम गरिरहेको मान्छेले यत्रो ठूलो अन्तर्राष्ट्रिय पुरस्कार पाउनु पनि देशकै गौरवको कुरा हो । डा. रुइतले पुरस्कार प्राप्तिको श्रेय तिलगङ्गा आँखा अस्पतालका आफ्ना सहपाठीलाई दिएका छन् । त्यसपछि मात्र परिवार र बिरामीहरूलाई, केही मात्रामा आफ्ना अन्तर्राष्ट्रिय साथीहरूलाई ।

डा. रुइतले आधुनिक मोतियाबिन्दुको शल्यक्रियालाई सरलीकरण गरेर देशबाहिर पुर्‍याए । ‘इन्ट्राअकुलर लेन्स’ को विकास गरे । तिलगङ्गामा बिरामीको आँखामा हाल्ने लेन्स अन्तर्राष्ट्रियस्तरको ‘इन्ट्राअकुलर लेन्स’ हो । त्यो लेन्स सुरु गर्दा सन् १९९० सुरुमा अमेरिकालगायत विदेशबाट बनेर आउने गर्दथ्यो । त्यसको मूल्य एक युनिटकै दुई सय डलर जति पर्ने गर्दथ्यो । त्यसैले यो सर्वसाधारणको पहुँचमा थिएन ।

डा. रुइतको सात वर्षको मिहेनतले त्यो लेन्सको दामलाई पाँच डलरभन्दा कममा झार्‍यो । त्यसपछि धेरै आँखाका बिरामीले सेवा पाएका छन् । लेन्स एकदमै विशेष खालको प्लास्टिकको सामग्री हो । यो आँखामा राखिसकेपछि मोतियाबिन्दुको शल्यक्रियापछि मोटो चश्मा लगाउनु पर्दैन । यसले आँखाको नजरलाई मोतियाबिन्दुको शल्यक्रियापछि राम्रो देख्नमा मद्दत गर्दछ । डा. रुइतले तिलगङ्गामा नै लेन्स उत्पादन गर्छन् । उनको यो आविष्कारले आँखाको उपचारमा क्रान्ति नै ल्याएको छ । त्यसैले उनी अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भए । बधाई डा. सन्दुक ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट