भरतपुर, ८ माघ ।
चितवनका स्रस्टा सूर्यमणि रेग्मीको ‘आमाको पुकार’ र भरतबाबु ढकालको ‘सुधाङ्कुर’ कविता सङ्ग्रहको विमोचन गरिएको छ ।
जनसांस्कृतिक महासंघ चितवनको आयोजना एवं साहित्यकार सूर्यमणि रेग्मीको सहआयोजनामा गरिएको शारदा घरदैलो प्रतिभा प्रवाह १६० औँ शृङ्खलामा यी दुई कृतिको विमोचन गरिएको हो । शनिबार भरतपुर–१३, चम्पानगरस्थित सूर्यमणि रेग्मीको निवासमा कार्यक्रम गरिएको हो । 
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी प्रमुखअतिथि रहेको कार्यक्रममा साहित्यकारहरु पोषराज पौडेल, केशवराज आमोदी, डा. भीमराज अधिकारी, रामहरि श्रेष्ठ, प्रकाश चापागाईं र सहआयोजककी आमा सरस्वती रेग्मी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा स्रष्टाहरु नारायणप्रसाद पोखरेल, गोकर्ण मल्ल, डिडी शर्मा, पद्मपाणी विरक्ति, प्रेमराज कोइराला, महेन्द्र कोइराला, उदयनाथ रेग्मी, कृष्णप्रसाद पोखरेल, होमनाथ घिमिरे, श्रीरेन्द्र पोखरेल, पूर्णबहादुर अधिकारी, शिवराज लामिछाने, शिवहरि पण्डित, कृष्णबहादुर न्यौपाने, शोभाकर सुवेदी, अमृता रसाइली रामदाम, केदारप्रसाद घिमिरेलगायतले रचना वाचन गरेका थिए ।
जनसांस्कृतिक महासंघ चितवनका सचिव विदुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सदस्य राजेन्द्र घायलले सञ्चालन गरेका थिए ।





