उदय अधिकारीद्वारा लिखित `प्रश्न´ पुस्तक पढेर सकेँ । पुस्तक किन्नुभन्दा अघि केही साथीहरूलाई ‘प्रश्न कस्तो छ ?’ भनेर सोधेकी थिएँ । केहीले अन्तर्वार्ता हो, ठिकै छ भने । केहीले पढ, राम्रो छ भने । एक मन त कथा पनि होइन, उपन्यास पनि होइन न कविता नै हो ! के पढ्नु जस्तो लाग्यो । तर पनि अर्को मनले किताब किन् किन् भनिरह्यो । किताब घरमा ल्याएको दिन अभि सुवेदीसँगको अन्तर्वार्ता पढेँ । कथा, कविताभन्दा मीठा अन्तर्वार्ता पनि हुँदा रहेछन् जस्तो लाग्यो ।
पुस्तक पढिरहँदा उदय अधिकारीले प्रश्न सोध्ने तहमा पुग्नका लागि आफूलाई अध्ययनको आरनमा लगेर निकै पटक अर्जापेका रहेछन् भनेर सहजै अनुमान गर्न सकिन्छ । उसो त लेखकको स्थानलाई ओझपूर्ण र बलियो बनाउन पाठक, समीक्षक र समालोचको भूमिका सधैँ महत्त्वपूर्ण हुन्छ । यस्तो महत्त्वपूर्ण भूमिका निभाउन सक्ने पाठकहरू औँलामा गनिने मात्र छन् । ती औँलामा पर्ने पाठक र समालोचकमा उदय अधिकारी अग्र स्थानमा पर्छन् भन्दा फरक नपर्ला ।
अधिकारीले अन्तर्वार्ताको सुरुवात रमाइलो ढङ्गले गरेका छन् । उत्तर दिने हरेक साहित्यकारहरूसँग उनको राम्रै सङ्गत रहेछ भनेर सहजै बुझिन्छ । नत्र हरेक व्यक्तिको व्यक्तिगत, सामाजिक, राजनीतिक र साहित्यिक जीवनको पर्दा कसरी खोल्न सकिन्छ हैन र ! सुवेदीसँगै अरू पाँचजना नारायण ढकाल, सरुभक्त, श्यामल,श्रवण मुकारुङ र मनु मञ्जिलसँगको अन्तर्वार्ता पनि पढेँ । पढ्दै जाँदा कुनै पनि पानामा पुगेर विश्राम लिउँ र अर्को किताब समाउँ जस्तो लागेन । बौद्धिक व्यक्तिले बौद्धिक व्यक्तिहरूसँग लिएको अन्तर्वार्ता जसले पढ्छ उसले आफू कहाँ छु भनेर ठ्याक्कै पत्ता लगाउन सक्छ । साहित्यको पोखरीमा पौडी खेल्न सहज ठान्ने र दुईचार किताब पढेर प्रकाशनतिर दौडने कथित साहित्यकारहरूलाई त प्रत्येक पानाले गतिलो पाठ पढाउँछ ।
अङ्ग्रेजी राम्रोसँग फुटाउन नजान्ने, मुमिन र महाभारत हेरेर हुर्किएको भए पनि हिन्दी पढ्न त्यति साह्रो जाँगर नलाग्ने तर बजारमा आएका चर्चित र साहित्यमा स्थापित भएका नेपाली लेखकहरूका पुस्तकहरू भने खोजीखोजी पढ्न रुचाउने मजस्ता साहित्य अनुरागीलाई प्रश्नभित्र विदेशी लेखकका नाम पढिरहँदा अचम्म लाग्न सक्छ । विदेशी लेखकका कृति नपढेर नै लेखाइमा सुधार नभएको हो कि भन्ने भ्रम पनि पर्न सक्छ । साहित्यमा स्थापित हुन विदेशी लेखकका कृतिहरू पढ्नैपर्ने रहेछ भन्ने भान हुनसक्छ । तर यस कुरामा मेरो मत फरक छ । हरेक मानिसका आफ्नै भोगाइ हुन्छन् । आफ्नै जीवन हुन्छन् । आफूआफू बाँचेका समय, स्थान फरक हुन्छन् । लेखाइलाई यथार्थको धरातलमा उभ्याउनका लागि लेखकले प्रत्यक्ष अनुभूति गरेका, भोगेका कुराहरूले बढी महत्त्व राख्छन् कि जस्तो लाग्छ ।
लक्ष्मीप्रसाद देवकोटाको मुनामदन आजसम्म हामी सबैको मस्तिष्कमा बसेको छ । देशको माटो, प्रेम र जीवनशैलीलाई मुनामदनले बोलेको छ र त आजसम्म उतिकै चर्चित बनेको छ । धेरैभन्दा धेरै कृतिहरू पढ्नु नराम्रो भने अवश्य होइन । विदेशी कृतिहरू पढ्दा फरक भूगोल, फरक मानिसका अनुभूतिहरू पनि थाहा हुन्छ । उनीहरूका लेखाइको स्तर र हाम्रा लेखाइको स्तर तुलना गर्न सकिन्छ । लेखनकलालाई फरकधारमा ढाल्न सकिन्छ ।
संसारमा कुनै पनि कुरा सतप्रतिशत राम्रो हुन्छ र भएको छ भनेर मलाई विश्वास लाग्दैन । अझ सार्वजनिक गरेर पाठकको पोल्टामा पुगेका कृतिहरू सबैको मनमा एकैनासले मगमगाउँछन् भन्ने हुँदैन । पाठकको आफ्नैआफ्नै चेत हुन्छ । एउटा पाठकले उत्पात मन पराएको कृतिले अर्को पाठकको मन नतान्न सक्छ । समग्रमा भन्दा प्रश्नले मेरो मन तान्यो । पाठकको आँखामा बिरलै पर्ने अन्तर्वार्ताजस्तो विधा लेखेर साहित्यमा योगदान पुर्याउने लेखकप्रति सम्मान छ । तर, प्रश्नभित्र पस्नुभन्दा अगाडि लेखकको भूमिका खोजेँ, भेटाइनँ । स्कुल पढ्दा पाठभन्दा अगाडि हुने हाम्रो भनाइ, पत्रिकामा सम्पादकीय, विभिन्न पुस्तकहरूमा भूमिका पढेर मात्र अगि बढ्न मनलाग्ने मजस्ता पाठकहरूलाई सिधै अन्तर्वार्तामा पस्दा हटलेमनमा लेमन थोरै भएर स्वादमा गडबडी भएझैँ प्रश्नले पहिलो सुर्कोमा त्यति स्वाद दिन नसकेको हो कि जस्तो लाग्छ ।
अर्को भन्न मनलागेको कुरा चाहिँ उदय अधिकारीजस्तो एउटा सचेत पाठक र समालोचकले पुस्तकभित्र छजना पात्र छान्दा पुरुषलाई मात्र स्थान दिएकोमा कताकता चित्त नबुझेको महसुस भयो । ‘के महिला लेखकहरू यस पुस्तकमा अटाउन लायक थिएनन् ? कि पुस्तकमा भएका स्रष्टाहरूको स्थानमा महिला लेखक पुगेका छैनन् ? कि पितृसत्ताको खोल अझै मैलिएको छैन ?’ यो प्रश्न प्रश्नका प्रश्नकर्तालाई राखेँ ।
अन्त्यमा, स्थापित स्रष्टाहरूका पठन र लेखनकला अनुकरणीय छन् । प्रश्नकर्ताको ज्ञानको दायरा धेरै फराकिलो छ । पुस्तकमा यो प्रश्न र यो उत्तर छ भनेर लेख्न थाल्दा धेरै लामो हुन्छ । यति मात्र भन्छु, प्रश्न पढ्दा अल्छी लाग्दैन । पुस्तकभित्र समेटिएका साहित्यका छजना हस्तिहरूलाई नजिकबाट नियाल्न पाइन्छ । साहित्यको क्षेत्र कहाँसम्म फैलिएको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । लेख्न खोज्ने लेखक र पढ्न खोज्ने पाठकलाई प्रश्न पढ्दा पक्कै पनि फाइदा हुने छ ।
अन्तर्वार्ता लिने अन्तर्वाताकारहरूलाई त विशेष शिक्षा नै मिल्ने छ । स्थापित लेखकका लेखकीय जीवनलाई सार्वजनिक गरी नयाँ पुस्ताका लेखकलाई एउटा अब्बल खुराक पस्किएकोमा प्रश्नकर्ता धन्यवादको पात्र अवश्य बनेका छन् । पटकपटक यस किसिमका कृतिहरूको उदय भइरहोस् । रोचक पुरुषमैत्री अन्तर्वार्ताले पाठकको मन जितेको छ । आशा गरौँ महिलामैत्री अन्तर्वार्ता हामीले छिट्टै पढ्न पाउने छौँ ।





