भरतपुर, ४ मंसिर ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान विथोल्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको हो ।
राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सुदन आचार्यका अनुसार उनीहरूले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएका हुन् । मतपेटिकाको बिर्कोको भाग डढेको प्रहरीले जनाएको छ ।
“ख मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ। तर, मतपत्र भने जलेको छैन”, आचार्यले भने, “करिब ४५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको छ ।”
१०/१२ जनाको समूहमा आएका उनीहरूले एउटा मतपेटिका जलाएपछि भागेका हुन् । उनीहरू पर्खाल नाघेर भागेको बताइएको छ ।





