पार्टीको सिद्धान्त हुन्छ, विचार हुन्छ । तिनै सिद्धान्त र विचारले देश विकास गर्ने लक्ष्य प्राप्त गर्छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, खुल्ला अर्थतन्त्र, हिन्दुराष्ट्र, गरिबी उन्मुलन काँग्रेसको सिद्धान्त थियो । बीपीले काँग्रेसको चुनाव चिह्न रूख किन राखे ? किनकि रूखबाट अक्सिजन पैदा हुन्छ । अक्सिजनबिना मानिस बाँच्न सक्दैन । अनि रूख जहाँ हुन्छ, त्यहीँ धेरै पानी पर्छ । मानिस बाँच्नलाई पानी र अक्सिजन अपरिहार्य वस्तु हो । त्यसैले काँग्रेसको चुनाव चिह्न रूख रहेको हो । रूख भनेको नै काँग्रेस हो, काँग्रेस भनेको नै रूख हो । दूरदर्शी सिद्धान्त थियो बीपीमा । अहिलेका काँग्रेस नेताले बीपी.को सिद्धान्त छोडे । सत्ता प्राप्तिका लागि काँग्रेस हुँ भन्नेले हँसिया हथौडामा भोट खसाल्नु परेको छ । न सिद्धान्त मिल्छ, न विचार मिल्छ । यी ठुला नेतालाई न देशको विकासको चिन्ता छ, न जनताको जीविकाको चिन्ता छ ।
राजनीति गर्नु सत्तामा जानु हो तर सिद्धान्तलाई छोडेर सत्तामा पुग्ने बाटो मात्र देख्नु राजनीति होइन । व्यक्ति वादि सिद्धान्त बाट कुनै पनि पार्टी चल्न सक्दैन । पार्टीको सिद्धान्तलाई हेरेर भोट दिने हो, न कि घोषणापत्र हेरेर । घोषणापत्र रोइरहेको बच्चालाई फुल्याई पानी मिसाएर दूध ख्वाए जस्तो हो । त्यस्तो दूधले बच्चाको पेट भर्न सक्ला तर तागत भर्दैन । अहिले काँग्रेसका हरेक क्रियाशील सदस्यको आत्मा रमाएको छैन तर रूखमा होईन हँसियाहथौडामा भोट दिनु नै छ ।
के का लागि ? गठबन्धनका लागि ? सत्तामा पुग्न ? सत्तामा पुगेपछि के गर्ने ? गठबन्धन गरेका पार्टीको घोषणापत्र फरकफरक होला । एउटाले भन्छ मेरो पार्टीको घोषणापत्र यो हो । यसरी काम गर्न पर्छ । अर्को पार्टी भन्छ, होइन यसो गर्ने, मेरो पार्टीको घोषणापत्रमा यो छ भन्ला । गठबन्धन गरेका पार्टीका सिद्धान्त, विचार र घोषणापत्र फरक हुन्छ । फरक सिद्धान्त र विचारले वैमनस्य मात्र जन्माउँछ ।
अनि होला त देशको विकास ?
हिजोको जस्तो भागबण्डा, आलोपालो, भाइभतिजा, नजिकका आसपासेलाई सत्तामा पु¥याउन गठबन्धन अनि सहकार्य । के ? यो गठबन्धन र सहकार्य दिगो होला र ? देशले काँचुली फेर्ला भन्ने तपाईं जनता विश्वास छ ?
राजनीति भनेको देश चलाउनलाई बनाउने नीति हो तर नेपालमा आफू कसरी बन्ने भन्ने नीति बन्न पुग्यो । दुर्भाग्य नेपालमा शिक्षाको कमी भयो । शिक्षाको कमीले होला हामी जनता नेताका झोले भयौँ । दुई छाक मासु भातमा बिक्ने भयौँ । सांसद र मन्त्री हुँदा देशको विकास, बाटो, पानी, सरकारी शिक्षा प्रणाली, सरकारी स्वास्थ्य प्रणाली, उद्योग कलकारखाना कति खोलिए ? देशको उत्पादन बढ्न सक्यो ? निर्यात के के भयो ? हिमाल र पहाड जनताको परिवर्तन र गरिबको उत्थानमा के काम भयो ?
यो दिन भोट माग्न आउँदा सोध्ने समय हो । नयाँ पार्टी होस् वा स्वतन्त्र होस् उसको सिद्धान्त र उद्देश्य के हो सोध्न नछोडौँ । हामी जनता अब के ठीक के बेठीक भन्न डराउनु हुन्न । हुन त डर छ कि आफ्नो मान्छे नेता भएन भने सरकारी काम गर्ने समयमा नेतालाई नभनी हँुदैन । जन्म दर्ता होस् या मृत्यु दर्ता होस् बनाउँदा स्थानीय नेता (राजा) चिन्नै पर्छ नत्र बन्दैन । आफ्नो चिनेको नेता भए कम्तीमा घुस त दिन पर्दैन । अनि भोट त तिनै नेतालाई दिनै प¥यो भन्ने बाध्यता जनतामा छ । तर अब परिवर्तनको खाँचो छ ।
नेपाली नेता देशको विकास कुरा गर्दैनन्, माधवले यसो भने, प्रचण्डले यसो भने, शेरबहादुरले यसो भन्छन् । समय जति विरोध र गाली गर्दा सिद्धिन्छ, अरूलाई दोष दिनुभन्दा विकासका कुरा गर्नु नि । विकास त थाहा नै छैन, उखान थाहा छ । दोष कस्को ?
पाईपबाट घरघरमा ग्यास ल्याइदिन्छु, पानी जहाजको टिकट काट, रेल त चाईनाबाट पोखरा हुँदै बेनी जान्छ, स्टेसन म्याग्दीमा हुन्छ भन्ने हावा गफ दिएर चुनाव जिते, भयो के ? ती विषय सम्भव थियो ? चाहेको भए काम शुरू हुन सक्थ्यो तर भएन । कारण ? मेरो जिम्मेवारी के हो थाहा नहुनु, सबै मैले जानेको छु भन्ने अहम हुनु, समय नबुझ्नु, भ्रष्टलाई जोगाउन समय फाल्नु, विरोधीलाई गाली गरेर समय कटाउनु, सिद्धान्त नहुनु । वृद्धभत्ता हामीले दिएको हो भन्यो आफ्नै खल्तीबाट दिए जस्तो गर्यो । त्यसैको ब्याज खायो, चर्काे भाषण गर्यो । अनपढ जनतालाई उल्लु बनायो, हँसायो । स्वरोजगारको नारा लगायो, भाषण गर्यो । श्रम स्वीकृत लिन घुस ख्वाउनु पर्ने, राहदानी बनाउन घुस ख्वाउनु पर्ने । गरिब जनताले कर जसरी पनि तिर्नु पर्ने बहुराष्ट्रिय कम्पनीले कर नतिरे पनि हुने ।
युवालाई विदेश जान बाध्य बनायो । भाषणमा विकास र समृद्धिको कुरा गर्ने । गरिब जनताको समृद्धि, छुवाछुत अन्त्य, शोषक सामन्त प्रवृत्तिको अन्त्य, जनजातिको उत्थान, पिछडिएका जनताको उत्थान भनी जनआन्दोलन भयो, धेरैको ज्यान गयो । सरकारी सम्पत्ति नास भयो । अन्त्यमा भयो के ? घाम जत्तिकै छर्लङ्ग छ । राजतन्त्र फ्याँक्यो प्रजातन्त्र आयो । प्रजातन्त्र फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यो संघीय गणतन्त्र पनि काम नलाग्ने कस्ले बनायो ? आज संघीयता खारेजीको माग हरेक जनता को आवाज हो । किनकि हाम्रो जस्तो विकासोन्मुख देशले, यति धेरै मन्त्री र सांसदको खर्च धान्न सक्दैन । मन्त्री र सांसदको तलब भत्ताले देशको विकास होला कि भन्ने झिनो आस जनतामा छ । जनतामा देशप्रति माया मन मुटुमा छ त्यति नेताहरूमा भए यो देश साच्चै कहाँ पुग्थो होला ?
संघीयता राम्रो होला तर देशको अर्थतन्त्रले धान्न नसक्ने भयो । जनताको चाहना यो छ भन्ने थाहा हुँदैहुँदा पनि थाहा नभए झैँ गर्नु को पछाडि के छ ? भागवण्डा र स्वार्थ । काँग्रेस हुँ भन्नेले हँसियाहथौडामा भोट हाल्नु परेको छ । माओवादीले काँग्रेसी नेता बोक्दै रूखमा भोट खसाल्नु परेको छ । मंसिर चार एमाले सरकार भनेर हलोमा भोट हाल्नु परेको छ । राजनीतिमा स्वस्थ प्रतिष्पर्धा हुनु जरुरी छ, चुनावमा सिद्धान्त र विचारको दृष्टिकोणले भोट दिन पाउने अधिकार खोसियो । यो निर्वाचन गठबन्धन र सहकार्यको खोल ओढेका चरित्रहीन व्यक्तिबीचको अस्वस्थ राजनैनिक लडाइँ मात्र हो ।
नेतामा नैतिकता छैन, संस्कार छैन मात्र नाटक गर्न जानेका छन् । वेद, पुराण, भागवत, गीता, उपनिषद् पढे पो नैतिकता र संस्कार जान्थे, त्यो त जलाए । धर्म बेचे । धर्म मानेको भए पो । पापको डर पैदा भएर गल्ती गर्न हुन्न भन्थे । धर्मले नैतिकता सिकाउँथ्यो र पो कर्तव्यबोध हुन्थ्यो अनि विकास र समृद्धि हुन्थ्यो ।
पार्टिको सिद्धान्त र विचार सुन्न आतुर म, झुक्याउने कागजको खोज्टा को रूपमा घोषणापत्रको निरन्तरताबाहेक केही देखिनँ । कति पटक आफुलाई ढाँट्ने ? अब त हुन्छ कि भन्यो हुन्न । यस पटक पनि मलाई विश्वास छैन । त्यसैले जुन दिन विश्वास लाग्छ, त्यो दिन भोट हालिन्छ । आफैलाई ढाँट्न सकिन मैले यस पटक । म सन्तुष्ट छैन, के तपाई हुनुहुन्छ ?





