भरतपुर, १८ कात्तिक ।
आगामी मंसिर ४ गते हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा भरतपुरका मतदातासँग लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा. भाेजराज अधिकारी घरदैलो अभियानमा व्यस्त छन् ।
गठबन्धन अन्तर्गत प्रदेश ३(१) मा डा. सुर्यकान्त घिमिरे र ३(२) मा ठाकुरप्रसाद ढकालसँगै उनी जनताको घरदैलोमा पुगेका हुन् ।
गठबन्धनका उम्मेदवारलाई जनताले फूलगुच्छासहित स्वागत गरेका थिए । भरतपुर ६ गीतानगर निवासी डा. आविष्कार चापागाईंले देशभरका अस्पताललाई व्यवस्थित गर्न पनि डा. भाेजराजलाई जिताउनुपर्ने बताए । अस्पतालका समस्या हल गर्न भाेजराज नै सक्षम रहेको उनको दाबी छ । त्यसकारण यस क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले गठबन्धनलाई समर्थन रहेको डा. चापागाईंले बताए । अहिलेकाे निर्वाचनमा युवा विज्ञ उम्मेदवार आएकाले पनि आफूहरूकाे समर्थन रहेको भरतपुर १३ का टेकबहादुर मगरले बताए । जंगली जनताबाट हुने असुरक्षा, बेरोजगारी र लालपुर्जाकाे समस्या समाधानका लागि यहाँका जनताले आग्रह गरेका छन् ।
बलियो मेसजालीसहितकाे पर्खाल निर्माणका लागि गठबन्धनका उम्मेदवारले पहल गर्ने मगरले विश्वास लिए । स्थानीय हीरा थापाले सडक कालोपत्रे गरेर विकास भएकोमा खुसी व्यक्त गरिन् । अब जनजीवन सहज बनाउन उनको अनुराेध छ । स्वास्थ्य क्षेत्रकै उम्मेदवार डा. भाेजराजले देशको स्वास्थ्य समस्या समाधान गर्ने उनलेे विश्वास लिइन् । `मैले त डाक्टर सावलाई भाेट हाल्छु, अस्पतालमा बनाउनुहाेला, अनि देशको पनि उपचार गर्नुहाेला´, थापाले भनिन्- `विज्ञताकाे काम गर्नुहाेस् ।´ विदेश जाने समस्याको दीर्घकालीन समाधान गर्न पहल गर्ने प्रदेश ३(२) का उम्मेदवार ठाकुरप्रसाद ढकालले बताएका छन् ।





