विक्रम संवत २०३६ सालमा पाकिस्तानमा सैनिक तानाशाह जियाउल हकले लोकतन्त्रवादी नेता जुल्फीकर अली भुट्टोलाई फाँसीमा झुण्ड्याउँदै गर्दा यता नेपालको चितवन जिल्लाको कुरीनघाट, कमेरे गाउँमा एक चम्किलो अनुहारका बालकले च्याँच्याँको आवाज निकाल्दै मानव संसारको सदस्यता लिए ।
त्यो २०३६ साल नेपालको लागि राजनीतिक परिवर्तनका लागि जनतामा चेत खुुलेको वर्ष थियो र त्यही चेत खुलाइका कारण विद्यार्थी आन्दोलन भएको थियो । यो हिसाबले यसरी भन्दा वि.सं २०३६ साल खास राजनीतिक वर्ष थियो भन्न मिल्छ । त्यही राजनीतिक वर्षमा चुनकुमारी अधिकारीको कोखबाट जन्मिएका एक होनहार, तेजस्वी बालक नै २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । तिनको नाम हो – डा. भोजराज अधिकारी ।
डा. अधिकारीको बाल्यकाल गरिबीका कारण निकै कष्टकर रह्यो । एक वर्षको उमेर पनि थिएन भोजराजको, जतिबेला तिनलाई उनका बा एकदेव र आमा चुनकुमारीले डोकोमा बोकेर पैदलै पश्चिम चितवनको पटिहानी पुर्याए । भरतपुरको हाकिमचोकबाट पूर्वतिर जाने कि पश्चिमतिर जाने टुंगो नभएका बेला बा एकदेव पूर्वतिर जाम् भन्ने आमा चुनकुमारी पश्चिमतिर ।
आमा चुनकुमारीको जीतपछि रातको समयमा एउटा सिंगो परिवार बाटैको रुखमुनि बास बस्न बाध्य भयो । आफन्त पर्नेको आश्वासनमा बसाइँ सरेर पटिहानी टेकेका एकदेवले सोध्दैखोज्दै त्यो जमानाका धनाढ्य ताराराज विष्टको घरमा आश्रय भेटे । विष्ट परिवारको खेतीपातीको रेखदेख गर्ने, गाईवस्तुको स्याहारसुसार गर्ने, भात पकाइदिने, जंगलबाट घाँसदाउरा ल्याउने, हलो जोत्ने नोकरी एकदेवको परिवारले पायो । धनसार भनिने तल अन्नपात राख्ने र माथि सुत्न मिल्ने खडाइले बारेको झुप्रोमा त्यो सर्वहारा अधिकारी परिवारको जिन्दगीको गाडा सुस्त गतिमा गुड्न थाल्यो ।
तीन बहिनी छोरी र चार भाइ छोराका बा एकदेव र आमा चुनकुमारीको जोडीले ती लालाबालाको सानो आकारको जन्तीलाई हुर्काउन कम्ता कष्ट व्यहोर्न परेन । बिहान सबेरै एकदेव जंगल जान्थे । पहिलो खेप घाँसको भारी घरको आँगनमा छाडेर दोश्रो खेप आउँदा तिनको काँधमा बडेमानको मुढो हुन्थ्यो । मुढो बिसाएर फाटेको टोपीले अनुहारको पसिना पुछ्दै झुपडीको एउटा कुनामा अडेस लाएर खुइय गर्दा जीवनसंगिनी चुनकुमारीले बासी ठेट्ना मकै र एक बटुको मही दिन्थिन् । घरधन्धा सिध्याएर आँटोपीठो खान १२ बज्थ्यो ।
आफूले पढ्ने लेख्ने अवसर नपाएपनि चुनकुमारी र एकदेवका जोडीले आफ्ना सन्तानलाई शिक्षादीक्षा दिन खुबै मेहनत गरे । तर छोराहरूमा कान्छो, साइँलो र माइलोले राम्रै शिक्षा हासिल गर्न सके । एक छोरी लीलाले गतिलै शिक्षा हासिल गरिन् तर अघिल्ला सन्तानहरूले खासै शैक्षिक योग्यता हासिल गर्न सकेनन् । छोराहरूमा भोजराज तेस्रो क्रमका अर्थात् साइँला छोरा हुन् ।
पढ्ने अवसर पाएका भोजराजलाई एकपटक शिक्षकले भनेपछि दोश्रो पटक भन्न नपर्ने देखियो । भोजराज सानै कक्षादेखि प्रथम हुँदै गए । उनका दाइ सुजन अधिकारी प्रथम हुन्थे तर भोजराज विद्यालयभरिको प्रथम हुन्थे । उनी कहिल्यै दोश्रो भएनन् । विद्यालय तहमा अध्ययन गर्दै गर्दा एक दिन त्यो गरीब परिवारमा नयाँ खालको दुःख प्रकट भयो । परिवारको दोश्रो महत्वपूर्ण खम्बा एकदेवकी जहान, सात फुच्चाफुच्चीकी आमा चुनकुमारीको हात भाँचियो । ऋण काढेर चुनकुमारीलाई दुई छोरा सुजन र भोजराजले काठमाडौं पुर्याए । चुनकुमारीको हातमा प्लास्टर त गरियो तर कुन्नि के तलबितल पर्यो उनको हात राम्ररी जोडिएन ।
मासु कुहिएर हातै झर्ने अवस्था देखा पर्यो । सुजन र भोजराजले डाक्टरसँग रोइकराइ गरेर आमाको हात नकाट्न र जसरी हुन्छ निको परिदिन अनुरोध गरे । शायद त्यतिबेला हात उपचार गर्ने डाक्टरको कुन चाहीँ बोलीले भोजराजको मनमा प्वाल पार्यो थाहा छैन भोजराजले त्यतिनै बेला “म कुनै पनि हालतमा बिरामीको सेवा गर्न डाक्टरै बन्छु” भने । उता आमाको हात निको हुँदै गयो यता भोजराज डाक्टर बन्न घुँडा धसेर पढ्न थाले ।
दिनहरू बित्दै गए । प्लस टु मा विज्ञान विषयमा उत्तीर्ण भएपछि उनले चिकित्सा शिक्षा अध्ययन गर्न छात्रवृत्तिमा नाम निकाले । तैपनि किताबसिताब र अन्य फुटकर खर्चका लागि एकदेवका जोडीले भोजराजलाई दसबीस हजार रुपैयाँ जोहो गर्न सकेनन् । ऋण माग्न घरघर चाहारे । भोजराजलाई विद्यालय तहमा पढाउने शिक्षक लोकबहादुर घर्ती त यतिबेला पनि भन्दैछन्, “भोजराजलाई एमबीबीएस पढ्नका लागि ऋण माग्न आउँदा मैले १० हजार रुपैयाँ दिन नसक्दा अहिले पनि थकथक लाग्छ ।” बडो कष्टका साथ इष्टमित्र छरछिमेकसँग दुईपाँच सय ऋण मागेर रकम जम्मा गरी भोजराजलाई एकदेवका जोडीले एमबीबीएस पढ्ने चाँजोपाँजो मिलाए ।
भोजराज आखिरमा फिजिसियन डाक्टर भएरै छाडे । भरतपुरको पुरानो मेडिकल कलेजबाट एमडीको अध्ययन पनि पूरा गरे । भरतपुर अस्पताल र पुष्पाञ्जली अस्पतालमा मात्रै यिनले हजारौंको उपचार गरे । स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्ष र भरतपुर अस्पतालको अध्यक्षको जिम्मेवारी पनि सम्हाले । उनले हजारौं जनताको सेवा गरे तैपनि यिनको मनमा देशैभरिका जनतालाई गरिबी र स्वास्थ्य सेवामा सहज पहुँच नभएको अवस्थाले पोलिरह्यो । यिनले यदाकदा केही वर्षपछि राजनीतिमार्फत् सिड्डो राष्ट्रको समस्या समाधान गर्ने इच्छा भएको बताउन थाले । यसैबेला अचम्म भयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवन – ३ बाट नभई गोरखा – २ नम्बरमा चुनाव लड्ने निधो गरे । चितवन ३ खालि भयो । गठबन्धनले माओवादी केन्द्रलाई छुट्याएको क्षेत्र नं ३ मा कसलाई उम्मेदवार बनाउने ? प्रचण्डले दिमाग घुमाउन थाले । घुमाउँदै गर्दा विक्रम पाण्डे जस्तो भेट्रान खेलाडी जसले यही क्षेत्रबाट पाँचपटक चुनाव लडिसकेका छन् त्यस्तासँग भिडाउन तिनै प्रख्यात डाक्टर भोजराजलाई भेटे । काठमाडौँ बोलाएर प्रचण्डले भोजराजलाई कन्भिन्स गरे । भोजराजको राजनीतिमा आउने १० वर्षपछिको इच्छा यतिबेलै पूरा भयो । भोजराजले चितवन तीनमा उम्मेदवारी दर्ता गरे ।
डाक्टरी पेशाबाट एक्कासी प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दै गर्दा उनले आफूभित्र लुकेको जनतालाई सम्बोधन गर्ने कला पनि राम्रै प्रस्तुत गरेका छन् । उनले सम्बोधनका क्रममा कसैलाई गाली गरेका छैनन् । यो उनको सबल पक्ष हो । जनतालाई अभिवादन गर्दै नम्र भाषामा प्रस्तुत भएका छन् । उनको बोल्ने शैली, तर्कसंगत प्रस्तुति उनको खास पूँजी हो । त्यो पुँजीको प्रयोगले उनलाई यो निर्वाचनमा लाभ मिल्न सक्ने देखिन्छ ।
यिनको धेरैले अनुमान नगरेको अनौठो विशेषता पनि छ । त्यो विशेषता उनको देब्रे हातको लेखन हो । डाक्टर भोजराज देब्रे हातले लेख्छन् । यूट्युबमा सर्च गरेर हेर्न सकिन्छ कि देब्रे हातले लेख्ने मानिस अत्यन्त तीक्ष्ण बुद्धिको हुने गर्छन् । यिनलाई एकपटक भनेपछि दोश्रो पटक भन्न पर्दैन । स्मरण शक्ति तेज हुने हुँदा यस्ता मानिस सानोतिनो कुरालाई वास्ता गर्दैनन् । सधैं उच्च र ठूलो विषयमा यिनको ध्यान रहन्छ । त्यसैले पनि होला भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको देब्रे हात चलेको ।
शक्तिशाली राष्ट्र अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक ओबामा देब्रे हातले लेख्छन् । महात्मा गान्धी लेख्दा देब्रे हात प्रयोग गर्थे । समाज सुधारक मदर टेरेसा देब्रे हातले लेख्थिन् । विश्वप्रसिद्ध हास्य कलाकार चार्ली चाप्लिन पनि देब्रे हातले लेख्थे । भारतका चर्चित सिनेस्टार अमिताभ बच्चन पनि देब्रे हातले लेख्छन् । यस्ता कैयो विश्वका चर्चित् र सफल व्यक्तिहरु छन् जसले देब्रे हातले लेख्छन् । यो कोणबाट यसरी व्याख्या गर्दा कतै डाक्टर भोजराज पनि त्यस्तै संसारका सफलमध्ये नेपालमा एक हुने त होइनन् ? प्रमाणका आधारमा यसो भन्न सकिने अवस्था छ पनि ।
दुनियाँमा सफल भएकाहरु पनि यस्तै दुखकष्टको आरनमा कुटिएर पिटिएर आएका भेटिन्छन् । भारतका प्रधानमन्त्री मोदी रेलमा चिया बेच्नेका सन्तान हुन् । बाराक ओबामाले सानोमा औधि दुःख पाएका थिए । त्यसकारण कतै पटिहानीको खेत जोत्ने हली एकदेव अधिकारीका पुत्र डा. भोजराजले यसपटकको निर्वाचनमा सफलता हासिल गर्ने त होइनन् ? जनताको नजरमा परे भने के भर, सांसद भइकन स्वास्थ्यमन्त्री पो भइहाल्छन् कि ? अब हेरौं, मंसिर ४ पछि के हुन्छ र !





