लन्डन, ७ कात्तिक ।
ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको अर्थमन्त्री समेत रहिसकेका सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
पेनी मोर्डाउन्टलाई एक सय जना समर्थकहरूको थ्रेसहोल्डको नजिक रहेको ठानिएको थियो । तर मोर्डाउन्टले अन्तिम समयमा प्रधानमन्त्री दौडबाट आफ्नो नाम फिर्ता लिएकी हुन् । प्रधानमन्त्री पदका अर्का प्रत्याशी भनिएका बोरिस जोनसन पनि पछि हटेका हुन् ।
सोमबार एक विज्ञप्तिमार्फत मोर्डाउन्टले सुनकलाई समर्थन गर्ने बताएकी हुन् । उनले भनेकी छिन्, “यी असामान्य समयहरू हुन् । नेतृत्व चयन गर्नमा एकदमै थोरै समयसीमा रहेको अवस्थामा हामी सबैले निश्चितता चाहिरहेका छौं । देशको राम्राका लागि हाम्रा सहकर्मीहरूले उचित निर्णय लिएका छन् । ऋषिप्रि मेरो पूर्ण समर्थन रहनेछ । हामी सबै एक भई देशका लागि अझै धेरै काम गर्न बाँकी छ ।
— Penny Mordaunt (@PennyMordaunt) October 24, 2022
गत भदौ २१ मा प्रधानमन्त्रीमा नियुक्त भएकी लिज ट्रसले ४५ दिनमै पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने स्थिति सृजना भएको थियो ।




