मैयादेवि श्रेष्ठ नेपाली राजनीतिमा चाख राख्ने र समाजसेवामा सक्रिय जो कोहीले चिनेको नाम हो । तनहुँ बन्दीपुरमा जन्मे पनि बाल्यकालमै उनको परिवार चितवन बस्न आयो । मैयादेविले चितवनमै राजनीति सुरु गरिन् । समाजसेवामा सक्रिय रहिन् । समाजसेवी, नेपाली कांग्रेस नेतृ एवं पूर्वसांसद श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ । दानकी खानीका रूपमा चिनिएकी श्रेष्ठको गएराति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा निधन भएको हो ।
(२०७४ सालको मंसिर २० मा क्षेत्रपुरको निवासमा पत्रकार रमेशकुमार पौडेलसँग मैयादेवि श्रेष्ठले आफ्नो व्यक्तिगत र राजनैतिक जीवन तथा तत्कालिन चितवनको सन्दर्भमा गरिएको कुराकानी उनको स्मृतिमा पुनःप्रकाशित गरिएको छ । )
रगतले करारनामा लेखेर काँग्रेसको सदस्यता :
मेरो जन्म विस १९८५ सालको असोज ५ मा तनहुँ बन्दिपुरमा भएको हो । हाम्रो बुबा व्यपारी हुनुहुन्थ्यो । व्यपारको सिलसिलामा देवघाट नारायणगढ पनि बस्नु हुन्थ्यो । आमाले मलाई बालखैमा बोकेर यही नारायणगढ ल्याउनु भयो । यहाँ बसे पनि हामी बन्दिपुर आउजाउ गर्दथ्यौं । हामी नारायणगढमा अहिलेको सहिद चोकमा बस्थ्यौं । प्रेम सुपरमर्केट भन्ने छ नि हो त्यही थियो हाम्रो घर । अहिले पो बजार छ । उ बेला जंगल हो । चित्तल, मृग आँगनमै आउँथे । पाँच बजेपछि तल बस्न सकिदैन थियो । आक्रमण गर्ने जंगली जनावहरुहरु आउँथे ।
विस २००३ सालको कुरा हो । त्यो बेला नेपाली काँग्रेस बनी सकेको थिएन । नेपाली राष्ट्रिय काँग्रेस भन्ने थियो । जसको नेताहरु हुनुहुन्थ्यो वीपी, गणेशमान सिंहहरु । उहाँहरु हम्रो यही नारायणगढको घरमा आउनु भयो । हामी खाना खाइवरी पाँच बज्दै गर्दा घरको माथिल्लो तलामा आएर बसेका थियौं । वीपीले मलाई ‘मैया एउटा काम गर है’ भन्नु भयो । मैले ‘के काम हो सान्दाइ’ भँने । उहाँले काँग्रेसमा लाग भन्नु भयो । मैले ‘जान्दिन के लाग्ने’ भन्ने जवाफ दिए । तर उहाँहरुले मान्नु भएन ।
केही कुराहरु भएपछि वीपीले पत्ती (ब्लेड) झिक्नु भयो । उहाँले च्यार्र औलो चिर्दिनु भयो, रगत आयो । त्यसबाट ‘दिन भन्ने छैन, रात भन्ने छैन । म भन्ने छैन, मेरो भन्ने छैन’ लेख्नु भयो । सदस्यता लिन गर्नु पर्ने चार करारनामा रहेछ यो । यसरी विस २००३ सालमा मैले वीपीबाट काँग्रेसको सदस्यता लिँए । वीपीले ‘तिमी चलाख छौं, पार्टीको काम राम्रोसँग गर्न सक्छौं’ भनेर हौसला दिनु भयो । मैले खै सान्दाइ जानेको छैन तर काम के गर्दा के कसो होला भने ।
त्यसपछि पनि उहाँहरु दुई दिन बस्नु भयो । कपडाहरु धुनु भयो । उहाँहरु विरगञ्जसम्म जानु पर्ने रहेछ । केही आर्थिक सहयोगको कुरा राख्नु भयो । धेरै पर्दैन ५० रुपैयाँ भए हुन्छ भन्नु भयो । दाइले दिनु भयो । पैसा मात्रै दिनु भएन जंगलको बाटो पनि कटाएर आउनु भयो । उहाँले मेरो बिहेका बारेमा पनि चासो नराखेको हैन । एक दिन मैया तिमीलाई हेर्न एउटा केटा आउँदैछ भन्नु भयो । मैले ‘सान्दाइ मसँग बिहेको कुरा अब आइन्दा कहिल्यै नगर्नु’ भने । त्यसपछि उहाँले यो विषयमा दोह¥याएर कुरा गर्नु भएन । तर राजनैतिक सहकार्य जारी नै रहयो ।
बिरामी पुष्पलाललाई भेट्न पाइन:
पुष्पलाल कम्युनिष्ट भए पनि मेरो राम्रो चिनजान थियो । उहाँ बन्दिपुरमा आएर हाम्रै सानीमाको घरमा बस्ने गरेका कारण चिनजान भएको हो । राजनैतिक बिचार फरक थियो । तर पनि उहाँ मलाई निकै असल नेता लाग्थ्यो । उहाँ भारतमा नराम्ररी बिरामी पर्नु भएको रहेछ । अन्तिम अवस्थामा ‘मैयादेविलाई भेट्न मन छ उनलाई ल्याएर आउ’ भनेर एकजना मान्छे पठाउनु भएछ ।
विरगञ्ज हुँदै त्यो मान्छे यहाँ हाम्रो घरमा आयो । म जान चाहन्थे । तर दाइले नगए हुन्थ्यो जस्तो कुरा गरेपछि गइन । पछि उहाँको निधन भएछ । विचार फरक भए पनि देशलाई असल नेता चाहिन्छ । वीपी त्यस्तै असल हुनुहुन्थ्यो, पुष्पलाल पनि साह्रै राम्रो नेता हो । अहिले पनि नेताहरु मिलेर सल्लाहा गरेर देश राम्रो बनाए हुने ।
( २०७४ सालको मंसिर २० मा क्षेत्रपुरको निवासमा पत्रकार रमेशकुमार पौडेलसँग मैयादेवि श्रेष्ठले आफ्नो व्यक्तिगत र राजनैतिक जीवन तथा तत्कालिन चितवनको सन्दर्भमा गरिएको कुराकानी )





