भरतपुर, ६ कात्तिक ।
समाजसेवी, नेपाली कांग्रेस नेतृ एवं पूर्वसांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ । दानकी खानीका रूपमा चिनिएकी श्रेष्ठको गएराति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा निधन भएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए ।
वि.सं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयाँदेवी पिता बीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुन् । त्यसबेला वीरगञ्जमा डिठ्ठा रहेका बीरबहादुर श्रेष्ठले १९८० सालतिरै चितवनको नारायगढमा थुप्रै जमिन जोडेका थिए ।
मैयाँदेवीको आज दिउँसो १ वजे देवघाटमा दाहसंस्कार गरिने चितवन जिल्ला सभापति खनालले जानकारी दिए । उनलाई अन्तिम श्रद्धान्जली दिनका लागि केन्द्रीय नेताहरु समेत सहभागी हुनेछन् ।
मैयाँदेवीले २००३ सालमा विपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी हुन् । विपीले उनका औंला ब्लेडले चिरेर रगतको ल्याप्चे लगाई सदस्यता दिएका थिए । २००७ सालको क्रान्तिमा तनहुँको बन्दीपुरमै सक्रिय भएकी मैयाँदेवी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परिन् ।
२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि भारत पलायन भएकी उनले २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीतिमा सक्रिय भइन् । लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी २०४८ सालमा गोरखा क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भइन् । २०५६ सालमा राष्ट्रिय सभामा मनोनित भइन् । २०६२/०६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उनी सांसद थिइन् ।
अविवाहित मैयाँदेवी श्रेष्ठले आफ्नो जीवन समाजसेवा र राजनीतिमा लगाइन् । उनको बढी झुकाव समाजसेवामा छ । रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयाँदेवी श्रेष्ठले दिएकी हुन् ।
कांग्रेसको चितवन जिल्ला कार्यालय पनि मैयाँदेवीले नै दान गरेको करोडौं मूल्य पर्ने जग्गामा छ । मैयाँदेवीले चितवनमै नेपाल प्रेस युनियनको भवन बनाउन १५ धुर जग्गा दान गरिन् । कांग्रेस पार्टीका लागि मैयाँदेवीले ६ करोड ५० लाख बराबरको जग्गादान गरेको कांग्रेस सभापति खनालले बताए ।
मुम्बईमा पढ्दै गर्दा कांग्रेसको सम्पर्कमा आएकी मैयाँदेवीले आफ्नो भागमा परेका सारा सम्पत्ति लोक हितमा लगाइन् । उनका दाजु कमलप्रसाद श्रेष्ठका छोराहरु पनि समाजसेवीमा गनिएका छन् । मैयाँदेवीले महिलाहरुको उच्च शिक्षाका लागि भरतपुरमा मैयाँदेवी कन्या कलेज स्थापना गरेकी थिइन् । जहाँ अहिले ११ कक्षादेखि स्नातकोत्तर तहसम्म करिब आठसय छात्रा अध्ययनरत छन् । २०५७ सालमा १६ कठ्ठा जमिनमा बनेको कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ पढाइ हुन्छ ।
मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकको करिब २० करोड पर्ने जग्गा मैयाँदेवीले दान गरेकी हुन् । मैयाँदेवी श्रेष्ठले दुईवटा ट्रष्टका नाममा करोडौंका मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गरेकी छन् ।
नारायणघाटको मेनरोडमा रहेको तीन तले घर ट्रष्टका नाममा पास गरिदिएकी छन् । ट्रष्टले शिक्षा, स्वास्थ्य, महिलालगायतका क्षेत्रमा काम गर्दै आएको छ । देवघाटमा २०५४ सालमा स्थापित ओम शान्ति मैयाँदेवी ट्रष्ट सक्रिय छ भने मैयाँदेवी ट्रष्ट पनि क्रियाशील छ ।





