काठमाडौँ, २५ असोज ।
सत्तारुढ गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट पूर्वसहमतिविपरीत दलका नेताहरूले दर्ता गराएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत आ-आफ्नो पार्टीका गठबन्धनमा भएको सिट बाँडफाँटविपरीत उम्मेदवारी दिने नेताहरूलाई फिर्ता हुन निर्देशन दिएका हुन् । समयभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले उनीहरूलाई निष्कासन गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।





