भरतपुर, २५ असोज ।
राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले धर्म, संस्कृति जगेर्ना गर्न लाग्नुपर्ने बताएका छन् । गोर्खाको धार्मिक स्थल मनकामना दर्शन गर्न पुगेका पूर्वमन्त्री पाण्डेले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनतामा जागरण चाहिएको बताए । “जनअनुमोदन विना धर्म निरपेक्ष राष्ट्र बनाउने काम भयो”, उनले भने, “हिन्दुराष्ट्र पुनःस्थापनाका लागि हातेमालो गरौँ ।”
नेपाल देवभूमि भएकाले ऋृषि, महर्षिहरुले तपस्या गरेको क्षेत्रमा सबै धर्मको सम्मान हुने गरी हिन्दुराष्ट्र बनाउनुपर्नेमा पाण्डेले जोड दिए ।
पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । पाण्डेसँगै मनकामना दर्शनका लागि चितवन ३(क) का उम्मेदवार गिरबहादुर तामाङ (ज्ञानजंग लामा) र ३(ख) का उम्मेदवार रिना गुरुङसहित राप्रपाका जिल्लाका नेताहरु सहभागि थिए ।
मनकामना दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । “मंसीर ४ मा जनताले असल र विकासवादी नेतृत्व चुन्नेमा आशावादी छौँ”, राप्रपा उपाध्यक्ष पाण्डेले पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा भने, “हिन्दुत्वमाथि प्रहार गर्ने नेताहरु विदाई हुनेछन्, मौलिक भाषा, संस्कृति जगेर्ना गर्ने नेतृत्व सदनमा पुग्नेछन् ।”





