चितवन,२४ असोज ।
चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका डा। विश्व पौडेलविरुद्ध कांग्रेसकै बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उजुरी दिएका छन्।
पौडेल अझै पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा बहाल रहेको भन्दै बुर्लाकोटीले पौडेलको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको सहायक निर्वाचन अधिकृत नवीनराज रुवालीले जानकारी दिए।
उनका अनुसार दुवै पक्षलाई मंगलबार बिहान १० बजे सबुत प्रमाणसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।
आइतबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज सोमबार दिउँसो ३ बजेसम्म उजुरी गर्न सकिने निर्वाचन आयोगले जनाएको थियो।





