चितवन–१ र ३ को गठबन्धनमा गडबडी, कांग्रेसभित्र ‘हेभीवेट’ बागी

भरतपुर, २३ असोज
सत्ता गठबन्धनमा रहेका ४ दलले लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेका छन् । देशव्यापीरूपमा गठबन्धनको मर्मअनुसारै उम्मेदवारी दिइए पनि चितवनको दुईवटा क्षेत्रमा गडबडी देखिएको छ ।

चितवनका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र ३ मा गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसबाट बागी परेका छन् । प्रचण्डले छोडेपछि नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारीलाई साझा उम्मेदवार बनाइए पनि कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीलाई स्वतन्त्र भनिएको छ ।

आइतबार २ नम्बर क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गरेपछि कोइरालाले विगतदेखि चितवन–३ नेपाली कांग्रेसलाई चाहिन्छ भनेर आवाज उठाएको तर गठबन्धनको भागबण्डामा त्यसो नभएको भन्दै उम्मेदवारी दिएको बताए । “दलभित्र बढेको स्वेच्छाचारिता र मनपरीविरुद्ध मेरो उम्मेदवारी हो”, उनले भने– “मैले विगतदेखि नै यसका विरुद्ध आवाज उठाउँदै आएको हुँ र उठाइरहने छु ।”

केन्द्रीय सदस्य कोइरालाले पहिलेदेखि नै चितवन–३ मा कांग्रेसको उम्मेदवार हुनुपर्ने बताउँदै आएका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा मनोनयन गरेर पनि चुनाव लड्नबाट वञ्चित भएका थिए । त्यसबेला प्रचण्डपुत्री रेनुलाई उम्मेदवार बनाएर कोइरालालाई पछि हटाइएको थियो । प्रचण्डले भरतपुरमा भएको एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मञ्चमा भएका कोइरालालाई संकेत गर्दै भनेका थिए– “दिनेशजी, तपाईंको त्यागको मूल्यांकन हुनेछ, तपाईंको समय छ नआत्तिनोस् ।”

तर, कोइरालाको त्यागको प्रचण्डले मूल्यांकन गरेनन् । त्यही कारणले उनी प्रचण्डसँग रिसाएका थिए । यसपालि पनि भरतपुरको मेयरमा कांग्रेसलाई टिकट दिलाउन कोइराला र अरू केही नेताहरू लागेका थिए । तर, उनहरूको जोडबल नचलेपछि रेनु नै गठबन्धनको उम्मेदवार बनिन् र मेयर पनि बनिन् ।

कोइराला सधैँ भन्थे– “चितवन ३ बाट प्रचण्ड चुनाव लड्दैनन् ।” र, आइतबार उम्मेदवारी दिएपछि सञ्चारकर्मीले सोधे– “तपाईं प्रचण्डलाई चितवनबाट लखेट्न चाहनुहुन्थ्यो, उनी गोरखा गए । तैपनि तपाईं गठबन्धनविरुद्ध उम्मेदवारी दिँदै हुनुहुन्छ, किन ?” उनले भने– “मैले प्रचण्डलाई तपाईंको आधार यहाँ छैन, नलड्नुस् । उहाँ जानुभयो । तर, मेरो कुरा भनेको चितवन–३ मा कांग्रेसको उम्मेदवार हुनुपर्छ भन्ने हो ।”

दिनेश कोइरालालाई नेकपा एमालेले समर्थनको उम्मेदवार बनाउन पनि खोजेको थियो । त्यसका लागि सूर्य चिह्नबाट चुनाव लड्नुपर्ने प्रस्ताव गरेको तर कोइरालाले नमानेको स्रोतले बतायो । त्यसलाई कोइरालाले भने प्रतिक्रिया दिएका छैनन् ।

चितवन–३ मै नेपाली कांग्रेसबाट स्थानीय चुनावमै कारबाहीमा परेका नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी स्थानीय चुनावमा गठबन्धनकी उम्मेदवार रेनुविरुद्ध मेयरका उम्मेदवार बनेका थिए । उनले १४ हजारभन्दा बढी मत ल्याएका थिए । यसपालि पनि रुख चिह्नको उम्मेदवारलाई भोट हाल्न पाउनुपर्ने माग गर्दै आएका उनले चितवन–३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए ।

सत्ता साझेदार दलहरूको गठबन्धनका साझा उम्मदेवार छन् डा. भोजराज अधिकारी । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा निर्वाचन क्षेत्र परिवर्तन गरी चितवन छोडेपछि अन्तिम समयमा अधिकारीले टिकट पाएका हुन् ।

तुलनात्मकरूपमा बढी लोकप्रिय र पार्टीभित्र कम विरोधी भएका व्यक्ति भएकोले पनि डा. अधिकारीको पक्षमा माहोल राम्रो भएको विश्लेषण गरिए पनि कांग्रेसका केन्द्रीय सदस्यकै उम्मेदवारी परेपछि डा. अधिकारीको टाउको दुखाइ बढेको छ ।

उम्मेदवारी दर्तापछि कायाकैरनले डा. अधिकारीलाई सोध्यो– “तपाईं साझा उम्मेदवार हुनुहुन्छ । तर, गठबन्धन साझेदार दलकै प्रभावशाली व्यक्तिहरूले उम्मेदवारी दिएका छन्, तपाईंलाई गाह्रो हुने हो कि ?” तर, उनी ढुक्क देखिए । भने– “मेरो जितको पहिलो आधार गठबन्धन हो । तर, त्यो मात्रै होइन । म एक चिकित्सक भएकोले यस क्षेत्रका कम्तीमा ५० हजार मतदातासँग त व्यक्तिगतरूपमै नजिक छु । त्यसैले म जित्नेमा ढुक्क छु ।”

चितवन–३ मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि गठबन्धन प्रयास थियो । तर, कुरो नमिल्दा अन्तिममा अलग–अलग उम्मेदवारी दिएका छन् । एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने राप्रपाले केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्तापछि विक्रम पाण्डेलाई कायाकैरनले सोध्यो– “एमालेसँग गठबन्धनको त्यत्रो कसरत गरेर किन सफल भएन ?” उनले भने– “असफल भइसकेको होइन, हामी खुला छौँ, जोसुकैसँग पनि मिलेर जान तयार छौँ ।” उनी अझै पनि एमालेले आफूलाई समर्थन गर्नेमा आशावादी छन् ।

चितवन १ मा पनि कांग्रेसभित्र गडबडी देखिएको छ । आइतबार बिहानसम्म पनि अलमल रहेको नेपाली कांग्रेसले अन्तिम समयमा डा. विश्व पौडेललाई उम्मेदवारी थमाएको कांग्रेसमा त्यहीँका पुराना नेता राजेन्द्र बुर्लाकोटीले बागी उम्मेदवारी दिएका छन् ।

यसअघिका दुई निर्वाचनमा एमाले नेता सुरेन्द्र पाण्डेसँग पराजित भएका बुर्लाकोटीले यसपालि ‘जित्न सजिलो’ ठानेर अन्तिम युद्ध लड्न तयार थिए । तर, अन्तिममा उम्मेदवारी नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए । उनले भने– “पार्टीमा योगदानै नभएका व्यक्तिलाई टिकट दिँदा कार्यकर्ता र समर्थक निराश छन्, उनीहरूको मन राख्न मैले उम्मदेवारी दिएको हुँ ।”

चितवन–२ मा भने गठबन्धनमा गडबडी देखिएको छैन । यहाँ सत्ता गठबन्धनको साझा उम्मेदवारहरू सौहाद्ररूपमै उम्मेदवारी दर्ता गर्न गए । बरू अन्तिम समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रवेशले ठूला दलका उम्मेदवारलाई पनि तनाव बढाइदिएको छ । यहाँ सत्ता गठबन्धनबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट