उम्मेदवारको मनोनयन भोलि, अधिकांश क्षेत्रमा टिकटको टुंगो

भरतपुर, २२ असोज
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार असोज २३ गते मनोनयन दर्ता हुँदै छ ।

देशभर प्रतिनिधिसभाका लागि १६५ र सातै प्रदेशका प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा एकैदिन उम्मेदवारको मनोनयन दर्ता हुने छ । दलहरूले शनिबार रातिसम्म अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएका छन् । आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे ।

उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।

उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट पारे ।

उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तयार रहेको उनले बताए ।

५ बजेसम्म मनोनयन दर्ता गरेपछि आइतबारै बेलुकी मनोनयन पत्र दर्ता गर्नेको नामावली प्रकाशन गरिने छ । उम्मेदवारको विरोधमा उजुरी दिनुपर्ने भएमा सोमबार १० देखि ३ बजेसम्म दिन सकिने छ ।

दलहरू दलबलसहित निर्वाचन अधिकृतको कार्यालय जानेछन् । सम्भावित भीड नियन्त्रण गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दलहरूलाई मनोनयनका लागि आउन फरक–फरक समय छुट्याइदिएको छ ।

कार्यालयको सूचनाअनुसार नेकपा एमालेलाई २ बजे, नेपाली कांग्रेसलाई ३ बजे र नेकपा माओवादी केन्द्रलाई ३ः१५ बजे समय दिइएको छ । त्यसैगरी अन्य दललाई पनि एकअर्कासँग नजुध्ने गरी समय दिइएको कार्यालयले जनाएको छ ।

अधिकांश क्षेत्रमा टुंगो
राजनीतिक दलहरूले देशभरका अधिकांश क्षेत्रमा उम्मेदवार टुंग्याएका छन् । चितवनमा पनि शनिबार रातिसम्म लगभग टिकट टुंगिएको छ । नेकपा एमालेले चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ टुंग्याएको छ ।

१ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेलले एमालेबाट टिकट पाएका छन् । उनीहरू २०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचन जितेका थिए । क्षेत्र नम्बर ३ मा भने एमालेले उम्मेदवारको अन्तिम टुंगो शनिबार रातिसम्म लगाएको छैन ।

यहाँबाट एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने सिफारिस भएका छन् । तर, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल भए विक्रम पाण्डेलाई समर्थन गर्ने सम्भावना पनि छ । त्यसको अन्तिम टुंगो भने लागेको छैन ।

एमालेले तीनवटै क्षेत्रअन्तर्गतका प्रदेशसभा उम्मेदवार भने टुंग्याइसकेको छ । क्षेत्र नम्बर १ को ‘क’ मा जगन्नाथ थपलिया र ‘ख’मा प्रकाश खनाल सैलेशले टिकट पाएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीले टिकट पाएका छन् । क्षेत्र नम्बर ३ को ‘क’ मा सरस्वती विष्ट र ‘ख’ मा कृष्ण भुर्तेललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

प्रचण्डले छोडेको ठाउँमा डा. भोजराज
चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले चिकित्सक डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

हाल भरतपुर अस्पतालका अध्यक्ष रहेका अधिकारीलाई मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएको हो । २०७४ को चुनावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको यस क्षेत्रमा आफूलाई टिकट दिने निर्णय पार्टीले गरेको डा. अधिकारीले कायाकैरनलाई बताए ।

सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि त्यहीँ विशेषज्ञ चिकित्सकका रुपमा कार्यरत थिए ।

यसै क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा गरिए पनि अन्तिम समयमा अध्यक्ष दाहाल गोरखा–२ सरेका छन् । माओवादीकै भागमा परेको चितवन ३‘ख’ मा माडी नगरपालिकाका पूर्वमेयर ठाकुर ढकाललाई उम्मेदवार बनाउने तय भएको छ । ३‘क’ भने कांग्रेसको भागमा परेको छ ।

क्षेत्र नम्बर २ मा कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । शिक्षाउद्यमी उनलाई उम्मेदवार बनाउने तय भएको कांग्रेसले जनाएको छ । त्यस्तै क्षेत्र नम्बर १ मा कांग्रेसले डा. विश्व पौडेललाई उम्मेदवार बनाउने तय भएको छ । क्षेत्र १ का प्रदेशसभामा समाजवादी र कांग्रेसले एक–एक सिट भाग लगाएका छन् भने २ का प्रदेशसभामा कांग्रेस र माओवादीको भागवण्डा छ । तर, शनिबार राति अबेरसम्म ती क्षेत्रका उम्मेदवारको अन्तिम टुंगो लागेको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट