भरतपुर, २२ असोज ।
डण्डीवियो खेल प्रबर्द्धनका लागि कालिका एफएमले अन्तरकर्मचारी डण्डीवियो प्रतियोगिता गरेको छ । लोप हुने अवस्थामा रहेको खेललाई संरक्षण गर्न कालिकाले गौरवमय २०औँ वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता गरेको हो । पुरुषतर्फ समाचार शाखाका राजेश पण्डित र महिलातर्फ कालिका एचडीका सविता गुरौ विजेता भएको खेल संयोजक श्याम विश्वकर्माले बताए ।
प्रतियोगितामा २४ जना कालिकाकर्मीहरु सहभागि थिए । विजेताहरुलाई वार्षिकोत्सव समापनका दिन असोज २६ गते नगद सहित पुरस्कृत गरिने छ ।
कालिका एफएमको खेलमैदानमा भएको खेलमा डण्डीवियोसँग कालिका एफएम, कालिका एचडीका कार्यक्रम प्रस्तोता, समाचार वाचक, प्राविधिक, कर्मचारीहरु रमाएका थिए । कालिका एफएमका निर्देशक दीपक पौडेलले प्राचिन समयदेखि खेलिने डण्डीवियो लोप हुन लागेपछि जगेर्नाका लागि प्रतियोगिता गरिएको बताए ।
डण्डीवियो, कपर्दी जस्ता मौलिक खेलहरु जगेर्ना गर्न बेलाबखत प्रतियोगिताहरु हुन आवश्यक रहेको बताए । कालिका एफएमका समाचारप्रमुख विप्लव काफ्लेले डण्डीवियो खेलले शरिरलाई स्वस्थ बनाउने बताए ।
डण्डीवियो कसरी खेलिन्छ ?
डण्डीवियो खेलमा काठको दुई फिट लामो डण्डी र ६ देखि ८ इन्चसम्मको वियोको प्रयोग हुने गर्छ । वियोको दुबै छेउमा तासेर छड्को बनाइएको हुन्छ । डण्डीले वियो हुत्याउने गरिन्छ । हुत्याइएको वियोलाई विपक्षीले समातेमा वा वियोले खोपीमा राखिएको डण्डीलाई हानेर छोएमा खेलाडी बाहिरिन्छन् । डण्डीले खोपी (सानो खाल्डो) को छेउमा राखिएको वियोलाई हानेर उफार्दै टाडा पुर्याउने गरिन्छ । उफार्दा एकैसाथ लागातार वियोलाई हान्ने (ट्याक) लगाएमा जति टाडा वियो पुग्छ सो दुरी वियोलेनै नापेर अंक गणना गर्ने गरिन्छ । वियोलाई हावामा उफार्दा विपक्षीले समातेमा प्राप्त अंक शुन्य वा खेलाडी बाहिरिन्छन् । यो खेल चौर,आँगन वा बाँझो खेत जहाँ पनि खेल्न सकिन्छ ।




