काठमाडौँ, २१ असोज ।
चुनावी तालमेलमा जुटेका सत्तारूढ गठबन्धन सिट बाँडफाँटको सहमतिनजिक पुगेको छ । निरन्तर छलफलमा रहेका गठबन्धन दलहरू सहमति नजिक पुगेका हुन् । सहमतिको अन्तिम खाका आजै सार्वजनिक हुनसक्ने नेताहरू बताउँछन् ।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको काम अन्तिम चरणमा पुगेको बताए । सम्भवत: आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको उनको भनाइ छ । ‘सिट बाँडफाँटका विषयमा लगभग अन्तिम चरणमा पुगेका छौँ,’ उनले भने, ‘लगभग हस्ताक्षर गर्ने अवस्थामा पुगेको छ । सम्भवत: आजै सहमतिको सूची सार्वजनिक हुन्छ ।´
गठबन्धनको बैठक अहिले पनि जारी छ ।
भागबण्डामा असन्तुष्ट जसपा भने नेकपा एमालेसँग सिट ‘बाँडफाँटमा बार्गेनिङ’ गरिरहेको छ । जसपा र एमालेबीच निर्णायक वार्ता भइरहेको छ । सम्भवतः शुक्रबार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभूत बनाइएको नेताहरूले बताएका छन् ।





