भरतपुर, २० असोज ।
नारायणगढ – मुग्लिङ सडकखण्डमा बिहीबार दुईपटकसम्म यातायात आवतजावत बन्द भयो । भरतपुर महानगरपालिका-२९ केराबारी नजिकैको माैरी पुल तथा सत्रकिलोमा लेदोसहितको पहिरो खस्दा बाटो अवरुद्ध बनेको हो । पहिरो हटाएर अहिले भने यातायात दुईतर्फीरूपमा सञ्चालनमा छ ।
अत्यधिक वर्षाकाे कारण माथिबाट लेदो खसेर यस सडकखण्ड अबरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय भरतपुरकाे टोलीले पहिरो हटाएर यातायात आवतजावतलाई निरन्तरता दिने प्रयास गरिरहँदा पानी परिरहेको र लेदो खस्ने क्रम नरोकिएकोले समयमै यातायात सञ्चालनमा ल्याउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरका शरदबाबु पराजुलीले कायाकैरनलाई बताए ।
यस क्षेत्रमा अहिले पनि पानी पर्ने क्रम नरोकिएकोले पहिरो खस्ने जोखिम उत्तिकै रहेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए । `अहिले गाडीहरू दुईतर्फी रूपमा चलिरहेका भए पनि जोखिमको अवस्थालाई मध्नजर गर्दै रातिको समयमा यस सडकलाई सकभर प्रयोग नगर्न आग्रह गर्दछौँ´, कार्कीले भने -`गर्नैपर्ने बाध्यात्मक अवस्था आएमा प्रहरीसँग सडकको अवस्था बुझेर मात्र सावधानीका साथ यात्रा गर्नुहुन अनुरोध छ ।´





