भरतपुर, २० असोज ।
चितवनसहित देशका विभिन्न ठाउँमा अहिलेसम्म पनि पानी परिरहेको छ । चितवनमा मंगलबार र बुधबार सामान्य वर्षा भए पनि बुधबार रातिदेखि भारी मात्रामा पानी परिरहेको छ । आज असोज २० गते बिहीबार बिहान ४ बजे
नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मिटर)नजिक पुगेको र यो बढ्दो क्रममा रहेको बताइएको छ । जलाधारमा आज पनि थप बर्षा हुने भएकोले चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूलाई आज साँझ सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले अनुरोध पनि गरेको छ ।
यस्तै गण्डकी र लुम्बिनी प्रदेशका नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भैरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ ।
हिजो टीका थाप्न कै लागि हिँडेका बेला खोलाले बगाउँदा केहीको ज्यान गएको छ । यस्तै, पहिरोको जोखिम रहेकाले खेतीपाती, घाँस दाउराको काम गर्दा पनि ख्याल गर्न भनिएको छ । चिप्लो र भिरालो क्षेत्रमा घाँस दाउरा नगर्न सुझाव दिइएको छ ।
यसैबीच, आज पनि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताइन् । उनका अनुसार अहिले वाग्मती प्रदेशको चितवनसहित गण्डकी र लुम्बिनी प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ । चितवन र नवलपरासीका स्थानीय खोलामा बाढी आएको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । पर्सी शनिवारसम्म नै देशभर वर्षाको सम्भावना रहेकाले हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्को अनुरोध छ ।





