भरतपुर, १८ असोज ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको आइसियु कक्षमा तोडफोड भएको घटनापछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
उपचारका लागि ल्याइएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलामा रहेको आइसीयुमा तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका-१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।
कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख प्रताप देवकोटाले बताए । उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि विभिन्न अंगहरूले काम गर्न छाडेका थिए । सोही कारण कुँवरको हिजै साँझ निधन भएको देवकोटाले जानकारी दिए ।
निधनको कारणका बारेमा आफन्तलाई हिजो नै जानकारी गराइँदा समेत आज मानिसहरू अचानक हुल बाँधी आएर तोडफोडमा उत्रिएको उनले बताए । मंगलबार (आज) दिउँसो साढे १ बजेतिर मृतकका आफन्त अस्पताल आएका थिए । चिकित्सकले लापरवाही गरेका कारण बिरामीको निधन भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।





